६ सय प्राविधिकको कोरोनाबिमा गर्दै महानायक हमाल

काठमाडौं । मुलुकमा लकडाउन चलिरहँदा विपन्न सिनेकर्मीको सहयोगमा महानायक राजेश हमालले बेवास्ता गरेको आरोप थियो । त्यतिबेला आफ्नो बिरामी भाइको उपचारमा व्यस्त हुँदा हमालले यता ध्यान दिन सकेनन् । यतिबेला महानायक हमालले सिनेकर्मीको हितमा काम गर्न थालेका छन् ।

यसैक्रममा राजेश हमालले नेपाली चलचित्र वृत्तमा कार्यरत विभिन्न प्राविधिकहरूको कोरोना बिमा गर्ने घोषणा गरेका छन् । अहिलेको निषेधाज्ञा केही कम हुनासाथ प्राविधिकहरूको कोरानासम्बन्धी स्वास्थ्य बिमा आफूले गरिदिने हमालले बताएका छन् ।

नेपाल चलचित्र प्राविविधक संघका अध्यक्ष पुष्कर लामाका अनुसार महानायक हमालले प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बिमा गरिदिने बताएका छन् । जसका लागि आफूले प्राविधिकहरूले नामको सूची तयार गरेको अध्यक्ष लामाको भनाइ छ । उनले महानायक हमाललाई प्राविधिकहरूको सो नामको सूची एक÷दुई दिनमै बुझाउने भएका छन् ।

अध्यक्ष लामाको अनुसार आर्थिक रूपमा विपन्न १ सय जना प्राविधिकलाई जनही ५ हजार रुपैयाँका दरले राजेश हमालले आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । आर्थिक सहयोगसँगै केही प्राविधिकले कोरोना बिमाको पनि माग गरेपछि सो प्रस्ताव राजेश हमालसमक्ष राखेको पनि अध्यक्ष लामाले बताए । महानायक हमालले जनही १ हजार रुपैयाँ तिरेर ६ सय जना चलचित्र प्राविधिकहरूको कोरोना बिमा गरिदिने प्रतिबद्धता पनि जनाइसकेका छन् ।

बहुसंख्यक प्राविधिकसँग काम गरेका कारण महानायक हमाललाई ती प्राविधिकहरूको आर्थिक अवस्था पनि जानकारी छ । त्यसैले, महानायक हमालले नै उनीहरूको अवस्थाबारे आफूहरूसँग सोधेर यस्तो राम्रो काम गर्न लागेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले बताएका छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.