डा.पुष्करराज भट्टका कोरोना केन्द्रित पाँच लघुकथा

डा.पुष्करराज भट्ट


(१) आत्मविश्वास
भिजिट नेपाल २०२० को प्रारम्भसँगै नयाँ उत्साह पलाएको थियो उसमा ।

‘अब व्यवसायलाई नयाँ किसिमले सञ्चालन गर्नुपर्छ ।’ यही उत्साहमा उसले पर्यटकीय क्षेत्रमा नयाँ होटल खोल्यो । विदेशी पर्यटकलाई लक्षित गरेर नयाँ(नयाँ संरचना बनायो ।

पर्यटन व्यवयासलाई फलाउन, फुलाउन र स्वदेशी श्रम र पूँजीलाई देशमै लगाउन के गर्नुपर्छ, ऊ विभिन्न सभासम्मेलन एवं कार्यक्रममा सहभागी भयो ।

‘भिजिट नेपाल २०२०’ ले नेपाललाई विश्वमा चिनाउन ठूलो मद्दत गर्नेछ । ऊ आफ्ना साथीहरूसँग छलफलमा सहभागी भयो ।

एकाएक कोरोनाको हल्ला चलेपछि उसको मनमा चिसो पस्यो ।

‘केही हुँदैन, केही समयमा अवस्था सामान्य हुन्छ ।’ ऊ आफ्ना कामदार र अन्य कर्मचारीलाई सान्त्वना दिन लाग्यो ।

भिजिट नेपाल कार्यक्रम स्थगित भयो । लकडाउन भयो । कफ्र्यू लाग्यो । व्यवसाय बन्द भयो । बैंकको व्याज बढ्दै गयो ।

ऊ अझै भनिरहेछ, ‘केही हुँदैन, केही समयमा अवस्था सामान्य हुन्छ ।’

एकदिन उसकी श्रीमतीले भनिन्, ‘यत्रो महामारी फैलिसक्यो । तपाईँको बोली एकनास छ ।’

उसले श्रीमतीतर्फ हेरेर भन्यो, ‘जे जस्तो अवस्था छ, सबलाई थाहा छ । अहिलेको समय जसरी पनि बाँच्ने हो । यो घरसम्पति, घरपरिवार बाँचे न काम लाग्ने हो । बाँच्नका लागि आशा चाहियो । मानिसलाई निराश बनाएर जिउँदै मार्न त भएन ।’

‘यो काम तपाईँले गर्नुपर्छ भन्ने के छ ?’ उनले जिज्ञासा राखिन् ।

‘मैले मात्र किन ? सबले गर्नुपर्छ ।’ यसपल्ट भने उसमा गजबको आत्मविश्वास देखियो ।

(२) गो कोरोना

केटाकेटी घरमा बस्दाबस्दा दिक्क भइसकेका थिए । आमा र छोराछोरी बीच कुरा भइरहेको थियो । एकदिन कान्छी छोरीले आमालाई भनिन्, ‘मम्मी, हामी कहिले स्कुल जाने । दिनमा घरमा बस्दाबस्दा दिक्क भइसक्यो ?’

‘दिक्क मानेर के गर्नु छोरी ! यस्तो रोग लागेका बेला त ज्यान बचाउनु त प¥यो नि ! कोरोनाबाट बच्नु प¥यो । घरमै बस्नुपर्छ ।’ आमाले सम्झाइन् ।

माहिलो छोराले जिज्ञासा राख्यो, ‘कोरानाबाट बच्न के गर्नुपर्छ, मम्मी ?’

‘भीडभाडमा नजाने, माक्स लगाउने, समयसमयमा हात धोइरहने, सेनेटाइजर प्रयोग गर्ने, बेसारपानी खाने ।’ उनले रोगबाट बच्ने उपाय बताइन ।

‘हामीले कहीँ कतै जान नपाउने ? मामाघर पनि जान मिल्दैन ?’ माहिलो छोरा बोल्यो ।

‘यो रोगको महामारी सकिएपछि जाने । सबै मिलेर कोरोनाको भिजिटलाई रोक्न लगाउने अनि सबै काम गरे भैहाल्छ नि ।’ आमाले छोराछोरीतर्फ हेर्दै भनिन् ।

‘अब कोरोनाको भिजिटलाई भगाउन सबै मिलेर गो कोरोना भनेर लाग्नुपर्छ । घरमा बसेर सावधान हुनुपर्छ है ! आमा ।’ जेठो छोराको यो भनाइसँगै साना केटाकेटी पनि भन्न थाले, ‘गो कोरोना, गो कोरोना ।’

(३) फेरिएको दैनिकी

बिहान रचनाको निन्द्रा ढिला खुल्यो । हिजो दिनभरको थकानले गलेको जीउ अझै दुखिरहेको छ । उठेर हेर्छिन् त श्रीमान, केटाकेटी सब मोबाइल समातेर बसेका छन् । सब आफैमा मस्त छन् । केटाकेटी गेम खेलेर बसेका छन् अनि श्रीमानचाहिँ च्याट गरेर बसेका छन् ।

‘बिहानदेखि साँझसम्म जतिबेला हे¥यो मोबाइलमा । के भएको हो, यो घरका मानिसलाई ?’ उनी चिच्याइन् ।

‘अरू काम नै केही छैन ? मोबाइल नसमातेर के गर्नु त ?’ छोराले मसिनो स्वरमा जवाफ दियो ।

‘हातमुख धोएर सरसफाइ ग¥यौ कि गरेनौ ?’ उनले छोराछोरीलाई सोधिन् ।

‘हामीले त बिहानै हो तर… ।’ छोराछोरीले जवाफ दिए ।

‘ए ! मैले मुख धुनै बाँकी छ, कसो भुलेको…।’ एकाएक उनका श्रीमान् उठेर मुख धुन बाथरुम छिरे ।

‘बाबुको हाल यस्तो छ, छोराछोरीको के होला ?’ रचनाले व्यंग्य गरिन् ।

उनले घरको सफाइपछि चिया बसालिन् लगत्तै सबलाई चिया पिउन भान्सामा बोलाइन् ।

‘मम्मी, आज खानामा के बनाउनुुहुन्छ ?’ जेठो छोरा बोल्यो ।

‘अब पहिले जस्तो अवस्था छैन, छोरा । तिम्रो बुवा काममा नगएको पनि दुई महिना भैसक्यो । तलब आएको छैन, भएको पैसाले सामान किनेको त्यो पनि सकियो । अब अवस्था हेरेर चल्नुपर्छ ।’ रचनाले विवशता देखाइन् ।

‘अब के गर्ने त ?’ कान्छो छोरा बोल्यो ।

‘जे जस्तो पाइन्छ, खाने । अरू के गर्ने ।’ उनी बोलिन् ।

‘यो कोरोनाका कारण घरमा बस्दाबस्दा म पनि अल्छी भएछु । तिमीहरू पनि पहिलेको अवस्थामा छैनौ । पहिले बिहानै उठने, सरसफाइ गर्ने अनि लेखपढ गथ्र्यौ । साँझ पनि घर आएर घरको काममा सघाउँथ्यौ अनि लेखपढ पनि गथ्र्यौ । अब योजना बनाएर काम गर्नुपर्छ नत्र बानी बिग्रन्छ ।’ श्रीमान छोराछोरीलाई एक ठाउँमा बसाएर कोरोनाकालमा के गर्ने, के नगर्ने भनेर योजना बनाउन थाले ।

‘म बिहानदेखि साँझसम्म घरपरिवारको सेवामा लागिरहन्छु । अहिले काम नभएको बेलामा, सबैजना घरमा भएको बेला मलाई सजिलो हुने पनि योजना बन्छ कि ?’ रचनाको यो आवाजसँग त्यहाँ भएका सबको अनुहारमा अनेक भाव देखिन थाले ।

(४) हिसाबकिताब

धर्मलाल हिसाबकिताबमा व्यस्त छ । पहिलेपहिले जब ऊ नाफाको हिसाब निकाल्थ्यो, उसको अनुहारको चमक बेग्लै हुन्थ्यो । आजभोलि उसको अनुहारमा चमक छैन, उसको अनुहारबाट पीडा टप्किरहन्छ ।

ऊ एकाबिहानैदेखि हिसाबमा व्यस्त छ । हिसाब गर्दागर्दै ऊ पीडाले रन्थनिन्छ ।

‘बाफ रे बाफ ! यति धेरै नोक्सान । बर्बादै हुन थाल्यो ।’ धर्मलाल यसरी चिच्यायो कि पल्लो कोठामा बसेकी श्रीमतीले दौडेर आउनुप¥यो ।

‘कति नाफानोक्सान गरिरहनुहुन्छ । कहिले त शान्तिसँग बस्नुस् ।’ श्रीमतीले दिक्क भएर भनिन् ।

‘म त सँधै नाफामा चलेको मान्छे, नोक्सान सहन सक्दैन ।’ उसले आफ्नो अनुभव बतायो ।

लकडाउन खुकुलो हुने र केही समयका लागि व्यापारव्यवसाय खुल्ला गर्ने निर्णयसँगै ऊ अत्यन्त खुशी भयो ।

उसले बिहानै उठेर नित्यकर्म सिद्धायो अनि लाग्यो कारोबारस्थलमा ।

‘रामराम ! काका । धेरै दिनमा भेट भयो त ?’ त्यहीँकै एक व्यापारीले अभिवादन गर्दै भन्यो ।

वृद्ध धर्मलालले खुसी हुँदै जवाफ दियो, ‘रामराम ! घरमा बस्दाबस्दा निस्सासिएला जस्तो भएको । अब यसरी भेटघाट त हुने भयो ।’

धेरै दिनपछि पसल खुलेका छन् । मानिसको भीड बढेको छ ।

‘ए भाइ, तिमी मास्क लगाएर आऊ ।’ उसले एकजना अल्लारे केटालाई पसलबाटै फर्कायो ।

‘ए नानी, धेरै भीड नगर है ! अलि टाढा टाढा बस् ।’ उसले एक महिलालाई भीडभाड नगर्न सम्झायो ।

उसले अरूलाई सम्झाउने गरे पनि आफू कहिलेकाहीँ मास्क फुकालेर राख्ने अनि धेरै बेरसम्म मुखमा लाउन भुल्न लाग्यो ।

एकदिन उसको छाती दुख्यो । उसलाई तत्काल अस्पताल पु¥याइयो । भोलिपल्ट समाचार आयो, ‘मुख्य बजारका एक व्यापारीलाई कोरोना पुष्टि ।’

रोग ठीक भएर घरमा छोराले सोध्यो, ‘अब कस्तो छ बा ?’

‘पैसाको हिसाबकिताब जति सजिलो रहेछ, जिन्दगीको हिसाब गाह्रो रहेछ, मैले जानिँन बाबु जानिँन् ।’ ऊ बालक जसरी जोरजोरले रुन थाल्यो ।

(५) लोकसेवा हैन भोकसेवा

निजी शैक्षिक संस्थामा आंशिक शिक्षकको काम गर्दागर्दा थाकेर गणेशले निश्चय ग¥यो, ‘अब लोकसेवाको तयारीमा लाग्छु ।’

घरपरिवारको सल्लाहपछि ऊ काठमाडौं गएर लोकसेवाको तयारीमा लाग्यो । केही महिना भएको थिएन, सारा मानिस काठमाडौं छोडेर घर गइरहेका छन् । मानिसहरूसँग सोध्दा कोरोनाको महामारीका कारण घर जान लागेको बताए ।

‘केही महिनामा ठीक भैहाल्ला । म त यत्रो तयारी छोडेर घर जाँदैन ।’ गणेश घर नगएर त्यहीँ बसिरह्यो ।

लकडाउनसँगै सारा कार्यालय, व्यवसाय बन्द भए । ऊ चूपचाप कोठामा बसेर लोकसेवाको तयारीमा लाग्यो ।

एकदिन ऊ लोकसेवाको पुस्तक पढ्दै थियो । पल्लो कोठामा बस्ने मानिसले भन्यो, ‘सरकारले सबै किसिमका जाँच रद्द ग¥यो । लोकसेवा पनि नहुने भयो ।’

‘सबै छोडेर यसैको तयारीमा लागियो । यस्तो हुन्छ भन्ने थाहा पाएको भए त उहिले घर जान्थेँ ।’ उसले गुनासो ग¥यो ।

अब उसमा पढने उत्साह हरायो । घर बाहिर निस्कने अवस्था थिएन । यातायात, बैंक सब बन्द थिए । काठमाडौंमा जति कडाइ थियो, त्यति कडाइ घरतिर थिएन ।

एकदिन घरबाट फोन आयो, ‘लोकसेवाको तयारी कस्तो छ ?’

‘लोकसेवाको जाँच त रोकिइसक्यो । भोकसेवा गर्न सकिएको छैन । रासन पनि सकिनै आँट्यो । परदेशमा भोकै मरिएला जस्तो छ ।’ उसले निराश हुँदै भन्यो ।

‘जसोतसो काम चलाउनु । वरपर, साथीभाइ सँग मागेर पनि चलाउनु । अवस्था सामान्य हुनेबित्तिकै केही उपाय गरौँला ।’ दाजुको भनाइसँगै उसमा केही आशा पलायो ।

प्रकाशित: २०७७/०५/१७ गते बुधवार ।

You might also like

Leave A Reply

Your email address will not be published.