नेपालका कम्युनिष्ट: को-को, के-के हुन् ?

लाओस राई

कुनै खास विषयमा बहस, विचारविमर्श र छलफल अनेक कोणबाट गर्न सकिन्छ । गर्न पर्दछ । ति विषयहरुको समय सापेक्ष महत्व र विशेषताहरु पनि समय अनुसार फरक-फरक हुन्छन् । प्रमुख कुरा विषयको गहिराइमा पुगी मुख्य कुरा उजागर गर्नु सकियो भने मात्र छलफल र बहसको औचित्य गरिमामय हुन्छ । अन्यथा जस्तोसुकै गम्भीर र महत्वपूर्ण छलफल पनि गफ गरेजस्तै हुन्छ । यतिबेला त्यही छलफल बहसलाई नेपालको कम्युनिष्ट आन्दोलन र रुपान्तरणको यात्रामा एकआर्काप्रति लगाइएका आरोपहरु र को-को के–के हुन् भन्ने बारेमा बहस केन्द्रित गर्न आवश्यक देखिन्छ ।

मोहन वैद्य भन्छन्,– साम्यवाद भनेको कल्पना होइन । साम्यबाद रहरले, लहडले ल्याउनपर्छ भन्ने कुरा होइन । यो नितान्त बैज्ञानिक बिषय हो । त्यही बैज्ञानिक पद्दतिले समाज बिकास भइरहेको हुन्छ । परिवर्तन प्राकृतिक पद्दतिले हुने भएपनि वैज्ञानिक परिवर्तनको निमित्त मार्क्सवाद बिना सम्भव हुँदैन । त्यसो भनिरहँदा साम्यवाद चिरन्जीवी हो भन्न खोजेको होइन । संसारमा न पूँजीबादी ब्यवस्था चिरन्जीवी हुन्छ न अरु कुनै ब्यवस्था चिरन्जिवी हुन्छ । साम्यवादी ब्यवस्था पनि चिरन्जीवी हुँदैन । यति हुँदाहुँदै पनि नेपालमा साम्यवादको आवश्यकता छ । यो हाम्रो दावा हो । उनी थप्छन् – संसदीय व्यवस्थाको आर्थिक आधार नवउदारबाद हो । हामीले त्यो ब्यवस्थालाई साम्रज्यवादी नवउदारबाद भन्छौं । जुन ब्यवस्थामा राज्यको भूमिका सून्य हुने र राज्य रमिते मात्र हुन्छ र राज्यले बिचौलियाको भूमिला रहने हुँदा सबै काम बजारले गर्दछन । जसको उदाहरण बेलायती र अमेरिकी अर्थतन्त्रलाई लिन सकिन्छ ।

स्मरण रहोस तात्कालिन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्टपति रोनाल रेगनले नवउदारवादी अर्थब्यवस्थाको झण्डोत्तोलन गर्दा अवको विश्व नवउदारवादबाट टाडा रहन सक्दैन, यसको विकल्प छैन । तर त्यसको ठिक उल्टो सन् २००८ मा अमेरिकामा आर्थिक संकट उत्पन्न भयो । नवउदारवादी ब्यवस्थाको ढाड नराम्रोगरी भांचियो । नवउदारवादीहरु अमेरिकी अर्थतन्त्र लंगडो हुँदा राज्य दर्शक मात्र भए । अमेरिकी बजार टाट पल्टेको १२ वर्ष भयो । यद्यपी, आर्थिक संकट समाधान गर्न अमेरिकी सरकारले बजारलाई नियन्त्रणमा लियो । रमिते राज्यले केहि महिना भित्र अर्थ ब्यवस्था सुधार्न क्रियाशिल भए । र राज्यको मद्दत र भूमिकाले गर्दा अमेरिकी अर्थतन्त्र सुधारिनु समय लागेन । बैद्यले साम्राज्यबादी नवउदारवादी ब्यवस्थाको खराव पक्ष औंल्याउँदै त्यसको उदाहरण अमेरिकी खुल्ला अर्थबजारलाई देखाए ।

बैद्यको कुरा सुन्दा, लाग्छ कि राज्य नियन्त्रित अर्थ व्यवस्थाले मात्र देशको आर्थिक ब्यवस्थालाई संतुलन राख्न सक्छ । उदार र खुल्ला अर्थ व्यवस्थाले आर्थिक संकट पैदा गर्छ वा वर्गीय द्वन्द अझै बढ्नमा मद्दत गर्छ । उदार र खुल्ला अर्थनीतिले बजारलाई खुल्ला छोडीदिने र पुँजीपतिहरुको बर्चस्व बढ्ने र आर्थिक संकटको कारक पनि पुँजीपतिहरु हुने तथा पुँजीको प्रयोग पनि पुँजीपतिहरुले नै गर्ने हुँदा परिस्थिति प्रतिकुल हुनसाथ पुँजीपतिहरु भागाभाग हुन्छन् । उनीहरु सरकारसंगै शरण लिन पुग्छन् । यथार्थमा भन्दा नव उदारवादी अर्थ ब्यवस्थाले पुजीपतिहरुकै समर्थन, संरक्षण र पृष्ठपोषण गर्छ । त्यसैले नवउदारवाद पुँजीपतिहरुकै ब्यवस्था हो । सन् २००८ को अमेरिकी आर्थिक संकटको घटनाले पनि त्यही देखायो ।

तर पछिल्लो घटनालाई लिने हो भने कोरोना महामारीले अमेरिकी बजार तहस नहस भयो । झन्डै तीन करोड मानिसहरुले बेरोजगारी भएँ भन्दै राज्यलाई निबेदन दिए । तर त्यस्तो प्रतिकुल परिस्थितिमा पनि भारत, बेलायत र फ्रान्सको बार्षिक बजेट भन्दा धेरै रकम बराबरको राहत कार्यक्रमा राष्ट्रपति डोनाल ट्रम्पले घोषण गरे । त्यसकारण बैद्य भन्छन् -राज्य बलियो बनाउनु पर्छ । राज्य बलियो भयोभने मात्र जनता सुरक्षित हुन्छन । त्यसको काम जुन ट्रम्पले गरे । बैद्यको भनाइ र ट्रम्पको गराई मिल्लुलाई संजोग मात्र भन्न सकिन्छ ।

विचारको हिसावले ट्रम्प मार्क्सवादी पनि होइनन् । वैद्य पूँजीवादको घोतक पनि होइनन् । केवल ब्यवहारमा बैद्यको कुरासंग मिल्न गएको हो । उनको बैचारिक प्रयोग यथार्थपरक हुँदाहुँदै पनि नेपालका अरु क्रान्तिकारी (विप्लव–प्रचण्ड) कम्युनिष्टहरुले उनलाई शास्त्रीय विचारको मोहोरा र जड सुत्रबादी भन्न भुल्दैनन् ।

यति हुँदाहुँदै धेरै नयाँ विचारहरु मार्क्सवाद कै जगमा उभिएका छन् । राजनैतिक इतिहासलाई उपेक्षा नगर्ने हो भने जतिपनि नयाँ विचारहरु छन् ति सबै विचारहरुको स्रोत माक्र्सवाद नै हो । बिडम्बना मान्नुपर्छ नयाँ विचार र स्वरुपमा परिस्कृत र परिमार्जित हुँदै पृथक अस्तित्व र परिचय बनाउनु संघर्षरत नेकपा कम्युनिष्ट आन्दोलनबाट विमुख भएको, त्यसको पछिल्लो उदाहरण नेकपाको कार्य दिशा–‘जनताको जनवाद’लाई लिन सकिन्छ ।

नेकपाले मार्क्सवाद, लेनिनवाद र माओवाद तीनवटा सैद्धान्तिक र वैचारिक धनलाई चटक्क छाड्दै विश्व कम्युनिष्ट आन्दोलमा नयाँ प्रयोग गर्दै संसदीय विचारलाई सस्थागत गर्‍यो । त्यसको पुष्ट्याइ नेकपाले लिएको उग्र संसदबादी चरित्रवाट प्रष्ट हुन्छ । यहाँ नेकपा मात्रको कुरा होइन जतिपनि कम्युनिष्ट नामधारी पार्टीहरु छन् ति सबैले कम्युनिष्ट चरित्र त्यागी सकेकाले उनिहरु कम्युनिष्ट होइनन् । गैर मार्क्सवादी विचारको प्रभावको कारण प्रचण्ड, ओली, बिजुक्छे सीपी मैनाली, चित्र बहादुर केसी लगायत जतिपनि कम्युनिष्ट भनिमाग्नेहरु छन् ति सबै उग्र संसदवादी, उग्र पुँजीवादी र साम्राज्यवादी नव उदारवादको दलाल र कम्युनिष्ट आन्दोलनको कलंक हो भन्दै मोहन बैद्यको आक्रोसबाट प्रष्ट हुन्छ । वास्तविकता पनि त्यहि नै हो ।

६५ वर्षदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा संघर्षरत मोहनविक्रम सिंह कम्युनिष्ट दर्शन, बिचार र सिद्दान्त बारेमा पृथक ढंगको भनाई राखिरहेका छन् । ‘हामी संघीयता विरोधी हौं, तर गणतन्त्रको पक्षपाति हौं, गणतन्त्रको संस्थागत बिकासको माध्यमले नै साम्यवादमा पुग्न सकिन्छ,त्यसको निम्ति संसदलाई उपयोग गर्छौं । तर संसदवादी हुँदैनौ मुख्य कुरा हामी क्रान्तिकारी चरित्रबाट बिमुख हुँदैनौ । हामी मार्क्सवादी हौं ।

मोहनबिक्रमको राजनीतिक यात्रा र कुराहरु सुन्दा लाग्छ कि बिद्रोह, द्वन्द र क्रान्ति त दन्त्यकथा जस्तै हो । उनको पार्टीको इतिहास हेर्दै जाँदा बैठक बस्ने, अन्तर्राष्ट्रिय परिस्थितिलाई दोष देखाउने, क्रान्तिपछी धकल्ने र विज्ञप्ति निकाल्ने बाहेक कुनै काम गर्दै नगरेको तथ्य ‘रातो तरवार’ पुस्तकले नै देखाउँछ । उनको मार्क्सवादी क्रान्तिकारी दर्शनको मुख्य टेको र आधार भनेको संसदीय ब्यबस्था हो । यदि संसदीय ब्यवस्था नभएको भए उनको आन्दोलन, बिद्रोह र क्रान्ति जीवित रहने थिएन । इतिहासको कुनै काल खण्डमा पंचायती ब्यवस्थाको बिरुद्धमा विज्ञप्ति निकाल्नु सिबाय क्रान्तिकारी आन्दोलन गरे उनले ? कम्युनिष्टको चरित्र संघर्ष र क्रान्ति मान्ने मशाल छाडेका प्रचण्ड दुई पटक प्रधानमन्त्री भैसक्दा पनि क्रान्ति गर्ने बेला भएको छैन भन्दै छन् ।

उनको ब्यवहारबाट प्रष्ट हुन्छ मसाल पार्टी निर्माण एकदलीय ब्यवस्था बिरुद्धको संघर्षको लागि हुँदै होइन । व्यक्तिगत स्वतन्त्रता र संसदीय ब्यवस्था भत्काउनु हो । त्यही कारण उनले बिरोधी विचारहरुलाई आजसम्म जीवित राखिरहेका छन् । मोहनविक्रम एन्टी कम्युनिट र एन्टी लोकतान्त्रिवादी ब्यक्त हुन । किनकी उनीसंग कम्युनिष्ट चरित्र देखिदैन । समग्रमा भन्दा उनी पूरानो विचारको बुइ चढेको मार्क्सवादी वैचारिक सामन्ती र अवसरबादको भण्डार हो । त्यसको प्रमाण संसदीय ब्यवस्थालाई पटक पटक उपयोग गर्ने नीति र चार दशक भन्दा लामो समय पार्टीको नेतृत्वमा रही रहनुले पुष्टि गर्छ ।

प्रजातन्त्रको नर्सरी भत्काउने राजा महेन्द्रले बाँडेको किताव पढेर कम्युनिष्ट भएका धेरै कम्युनिष्टहरु दरबारको डील उक्ले । धेरै अवसरबादीहरु दरबारमै बसाई सर्नाले धार्मिक अतिबादी समूहले देशलाई ३० वर्ष बन्धक बनाए । धार्मिक जडसुत्रबादी चिन्तनले दिक्षित ब्यक्तिहरु हरेक पार्टीमा भान्से बन्न पुगेपछी राजनीतिक चिन्तन र विचारका अनुयायीहरु किनारामा बस्नुपपर्ने अवस्था निर्माण भयो । दक्षिणपन्थी अवसरबादी, धार्मिक अतिबादी र अवसरबादी बामपंथहरुको स्वर्थ साझा भएपछी निषेधको राजनीति उत्पन्न हुनुलाई स्वभाविक लिन पर्दछ ।

किनकी उनीहरुको संस्कारले गुरु होइन चेला जम्मा गर्ने काम मात्र गर्छ । पुरानो मान्यतालाई मात्र निरन्तरता दिने गर्छ । नयाँ पद्दतिको सम्भावना सुन्य हुन्छ । नयाँ गुणवान पात्रलाई निषेध गर्छ । त्यसको उदाहरण आजीवन शासक बन्न लागेका चिनियाँ राष्ट्रपति सि झिंन पिंग र रसियाका राष्ट्रपति पुटिन पथलाई लिन सकिन्छ । त्यसैले भन्न सकिन्छ दक्षिणपन्थी तानाशाह र नै बामपन्थी हुन् । र बामपन्थी नै दक्षिणपन्थी तानाशाह हुन् । त्यसैले को-को के-के हुन् आफैं विचार गर्नुहोस । बुझुनुहोस र विश्लेषण गर्नुहोस ।

(लेखक: नेपाली कांग्रेसका नेता तथा राजनीतिक विश्लेषक हुन)

प्रकाशित मिती : २०७७ असोज १८ गते आइतबार ।

You might also like

Leave A Reply

Your email address will not be published.