प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, महासचिव पौडेललाई अर्थमन्त्री जिम्मेवारी

काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेकपा महासचिवसमेत रहनुभएका विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । डा. युवराज खतिवडाले राजिनामा दिएसँगै अर्थ मन्त्रालय रिक्त रहेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिनुभएको छ । रक्षा मन्त्रालय ओली आफैले राख्नुभएको छ ।

कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

पार्वत गुरुङलाई भने महिला बालबालिकाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा लगिएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको हो ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिशमा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको हो ।

योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन ।

You might also like

Leave A Reply

Your email address will not be published.