परदेशी युवाको आमालाई सन्देश : यसपालि त यस्तै भो आमा अर्कोसाल आउनेछु दशैमा


हिन्दू नेपालीजनहरुको महान पर्व दशैं नजिकिदै गइरहेको छ । तर यसपालि परिस्थिति झनै बिकराल बनेर आएको छ । खुशीयालीको चाड दशैं आएको छ । तर धेरैको मनमा खुशी छाउन सकेको छैन । परिस्थितिले दशैंका बेला घर गएर मातापिता र गाउँका पाका पुराना बृद्धजनहरुको हातबाट टीका ग्रहण गर्ने, साथीसङ्गीहरुसङ्ग मिलेर चर्खे, रोटे र लठ्ठे पिङ खेल्ने, मिठा मिठा परिकारहरु खाने, आफन्तजनहरुसङ्ग रमाइलो भेटघाट गर्ने अनुमति दिइरहेको छैन ।

रोजिरोटीका लागि संसारका विभिन्न देशमा पुगेका मात्र होइन देशकै अन्यत्र भागमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरु दशैंको टीका थाप्न सहजरुपमा आफ्नो गाउँघर जानसक्ने अवस्था अहिले छैन । लकडाउन खुले तापनि कोरोना सङ्क्रमणको सन्त्रास झनै बढ्दै गइरहेको छ । कोरोना भाइरसबाट बृद्ध अवस्थाका आमा बाबालाई जोगाउन अति आवश्यक छ । उनीहरुमा सङ्क्रमण देखियो भने जोगाउन धेरै मुश्किल पर्नेछ । यस्तो बेला परदेश तथा देशभित्रकै अन्यत्र ठाउँबाट गाउँमा गएर गाउँका बृद्ध अवस्थाका आमाबाबाहरुसङ्ग भेटघाट गर्दा उनीहरुलाई कोरोना सङ्क्रमणको जोखिम झनै उच्च हुन्छ । यही कारणले गर्दा कतिपय नेपाली दाजुभाइ, दिदीबहिनीहरु चाहेरै पनि यसपालि दशैंमा गाउँघर जानसक्ने अवस्था छैन । यस्तो रमाइलो र महान चाड दशैंका बेलामा आफ्नो प्यारो गाउँघर पुग्ने रहर कसलाई हुँदैन र जसलाई पनि हुने गर्छ । तर धेरै नेपालीहरु मुटु पिरो पारेर यसपटक भन्न विवश छन् ।

यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

परदेशतिर रहेका नेपालीहरुको अवस्था यो बेला झनै दयनीय बनेको छ । कोरोना कहरले रोजगारी खोसिएको छ । बिरानो मुलुक, चिनारु कोही छैन । बर्षौंदेखि उनीहरु आफ्नो प्यारो मातृभूमि आउन पाएका छैनन् । दशैका बेला आफ्ना बृद्ध आमाबाबाको हातबाट टीका थापेर आशीर्वाद लिन पाएका छैनन् । यस्तो रमाइलो चाड दशैंका बेलामा पनि आफ्नो गाउँघर आउन नपाएका तिनै परदेशी नेपालीहरुको मार्मिक बेदना समेटिएको गीत हो । यसपालि त यस्तै भो आमा, अर्को साल आउनेछु दशैमा ।

जनगायक जीवन शर्माले आजभन्दा दुई दशक अगाडि रचना गर्नुभएको यो गीतको अडियो प्रत्येक बर्ष दशैँ नजिकिँदै गएसङ्गै धेरै सञ्चार माध्यममा घन्कने गर्दछ । यसपटक भने उक्त मर्मस्पर्शी गीत भिडियोसहित आएको छ । जनगायक जीवन शर्माको आफ्नै युट्युब च्यानलबाट । २०७७ असोज २ गते सार्वजनिक गरिएको उक्त भिडियोभित्र जसको कथा र ब्यथा गीतको भावले बोकेको छ उनीहरुले नै प्रत्यक्षरुपमा अभिनय गरेका छन् । गीतमा दशैँका बेला घर आउन नपाएका परदेशी नेपालीहरुको मनको भावनालाई टपक्क टिपेर राखिएको छ ।

यस्तो छ गीतको शब्दभाव
दिनरात सम्झना छ गाउँघरको मलाई
सधैभरि बाँच्नु पर्यो यो हृदय जलाई
मुटु मिची बस्दैछु यहाँ
हाँस्ने खेल्ने कलिलो बैशैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

चिसो हावा खेल्दै होला मेरो प्यारो गाउँमा
तातो हावा बगिरहन्छ यो बिरानो ठाउँमा
गल्ली गल्ली डुल्दैछु आमा
आँसु पुछ्दै दुःखीको भेषैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

हिउँदको घाम छायाँ बर्षातको पानी
सुखदुःख यस्तै रहेछ हाम्रो जिन्दगानी
कालो कौवा करायो होला
घरैमुनि सुकेको बाँसैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

हो, दशैंको बेला परदेश गएको छोरो कति बेला आउला भनेर आमा बाटाभरि आँखा बिछ्याएर बसेकी हुन्छिन् । दहीमा टीका मुछ्दा समेत आमाले त्यही परदेशी छोरालाइ सम्झिरहेकी हुन्छिन् । आमाका आँखाबाट अनायासै आँसुका ढिक्काहरु तप्किन थाल्छन । उता, छोराको अवस्था पनि उस्तै कारुणिक हुन्छ । यस्तो रमाइलो चाड दशैंको बेलामा अर्काको बिरानो देशमा रगत र पसिना बगाएर बसिरहने रहर त कसलाई हुन्छ र ? तर पनि लाखौंलाख नेपाली दाजुभाइ, दिदीबहिनीहरु परदेशी भूमिमा त्यसरी बस्न बाध्य छन् । नेपाली चाडसङ्ग त्यहाँको मालिकलाई के मतलब हुन्थ्यो र ? उसले ती परदेशी नेपालीको मर्म बुझ्दैन । बिचरा ती परदेशीको ज्यान त विदेशमा हुन्छ तर मन भने आफ्नै गाउँघरतिर डुलिरहेको हुन्छ । उनीहरुको नयन अगाडि बृद्ध आमाबाबाको तस्बिर नाच्न थाल्छ । झलझली सम्झना आउँछ आफ्ना जहान, लालाबालाहरुको ।

गाउँघर, ती सङ्गीसाथी, आफन्तजन सबैको सम्झनाले मन भक्कानिएर आउँछ । उनीहरुका आँखाबाट पनि अनायासै आँसु बर्षिन थाल्छ । तर त्यो बिरानो ठाउँमा त्यो आँशुको मूल्य बुझिदिने कसले ? आफ्नो आँसु आफै पिउँदै विदेशको गल्ली गल्ली डुल्न बाध्य छन् उनीहरु । हाँस्ने खेल्ने कलिलो बैशको यो दिनमा विदेशका गल्ली, मरुभूमि, क्याम्प, कलकारखाना र होटलहरुमा मुटु मिची बस्न बाध्य छन् उनीहरु ।

अरबका खाडीहरुमा पचास, पचपन्न डिग्रीको तातो रापमा काम गर्न बाध्य छन् उनीहरु । मालिकको हप्कीदप्की खेप्दै निरन्तर ड्युटी निभाइरहेका छन् उनीहरुले । दिनरात उनीहरुले आफ्नो गाउँघर, प्रिय सङ्गीसाथी, जहान, लालाबाला सम्झिरहेका हुन्छन् । घरगाउँको सम्झनामा आफै रुने आफै सम्हालिने गर्न विवश छन् उनीहरु । आखिर सुखदुःख यस्तै त रहेछ नि जिन्दगी भनेर आफ्नो मन बुझाइरहेका छन् उनीहरुले ।

यो कुनै काल्पनिक कुरा होइन । लाखौंलाख परदेशी नेपालीहरुले भोगिरहेको यथार्थ पीडा हो यो । जनगायक जीवन शर्माले परदेशी नेपालीहरुको त्यही यथार्थ पीडालाइ टपक्क टिपेर राखेका छन् यो गीतमा ।

आँसीनाम्लो काखी च्यापी दाउराघाँस गर्न
कहिले तिमी मेलापात कहिले हुद्दा पर्म
महिना बिते बर्ष दिन बिते
दुख झेल्दै अर्कैको देशैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

चर्खे पिङ घुम्दै होला देउरालीको माथि
टीका थाप्न आए होलान् सबै सङ्गी साथी
लाए होलान सबैले आज
टीकामाथि जमरा केशैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

पुरी कहिले नपुरिने हृदयको घाउ
रिण माथि रिण थोपर्ने गाउँका जाली साहु
घरै छाडी उडेको चरी
फर्की फेरि आउनेछ बासैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

रहरले विदेश कोही पनि गएको हुँदैन । कोही साहु महाजनको रिणले थिचिएर अचाक्ली भएपछि परदेशिएका हुन्छन् भने कोही आफ्ना जहान लालाबालाहरुको सुन्दर भविष्यको सपना बोकेर कामको खोजीमा परदेश पुगेका हुन्छन् । देशभित्र रोजगारीको प्रशस्त आधार हुँदो हो त शायद कोही पनि नेपाली आफ्नो रगत र पसिना बेच्न विदेशी भूमिमा पुग्ने थिएन । तर, हाम्रो देशको अवस्था नै त्यस्तै छ । देशमा उद्योग, कलकारखानाहरुको विकास हुन सकेको छैन । चाहेर पनि काम गर्न पाउने यहाँ अवसर नै छैन । त्यसैले रोजगारीको खोजीमा संसारका विभिन्न देश चहार्न बाध्य छन् लाखौंलाख नेपालीहरु । गीतले त्यही बाध्यताको भुमरीमा परेका लाखौंलाख परदेशी नेपालीहरुको मनको बेदना बोलेको छ । यो रमाइलो चाड दशैंका बेला हाम्रो गाउँघरको रौनक नै बेग्लै हुन्छ । आफ्ना दुःख मनभित्रै लुकाएर भए पनि खुशी देखिने प्रयास गर्छन् मान्छेहरु । देउरालीहरुमा चर्खे, रोटे र लठ्ठे पिङहरु खेल्नुको आनन्द नै बेग्लै हुन्छ । गाउँका पाका पुराना मान्यजनका हातबाट टीका ग्रहण गर्दै आशीर्वाद लिँदाको आत्मसन्तुष्टि बेग्लै खालको हुन्छ । ससाना नानीबाबुहरु आफ्ना नयाँ नयाँ लुगा देखाउँदै प्रफुल्लित मुद्रामा डुलिरहेका हुन्छन् । दशैंका बेला आफ्नो घर आउन नपाएको परदेशीको मनमा यी सबै दृश्यहरु फनफनी नाचिरहेका हुन्छन् ।

आफ्ना सन्तानहरु धन कमाउने आशमा परदेशतिर लागेपछि बृद्ध बाबाआमा एक्लै गाउँबेशी, मेलापात गर्न बाध्य भइरहेका हुन्छन् । परदेशमा काम गरिरहेको छोराछोरीले आँसी नाम्लो काखी च्यापेर त्यो बुढेशकालको शरीरलाई उकाली ओराली गराइरहेको आमाको रुपलाई सम्झन्छन् ।

दशैंका बेला देउरालीमा घुम्ने त्यो चर्खे पिङ, ती सङ्गीसाथीहरु, गाउँका बूढापाकाहरुका अगाडि लामबद्ध भएर टीका थाप्दाको त्यो अवस्था, ती सबै दृश्यहरुले ती परदेशी नेपालीहरुको मन पलपलमा झस्काइदिने गर्छ । आफ्ना अगाडि गाउँका छोराछोरीहरु टीका थाप्न लामबद्ध हुँदा त्यहाँ आफ्ना परदेशी छोराछोरीलाई नपाउँदा उनीहरुलाइ सम्झेर कति रुन्छ होला ती आमाबाबाको मन ? तर पनि आफ्ना आँसु भित्रै लुकाउँदै लामबद्ध भएकाहरुलाई खुशी साथ टीका लगाइदिन्छन् बाबाआमाहरुले । दशैंका बेला हाम्रो समाजमा बर्षौंदेखि देखिदै आएका तिनै कारुणिक दृश्यहरुलाइ कुशलतापूर्वक सरल शब्दमा उनेका छन जनगायक जीवन शर्माले यस गीतमा । गीतमा समस्या र पीडा एवं ब्यथाहरुको उत्खनन् मात्र गरिएको छैन, त्यसबाट समाधानको स्पष्ट मार्गचित्र पनि प्रस्तुत गरिएको छ । सधैभरि परदेशिनुपर्ने यो समस्याबाट मुक्ति पाउने जुक्ति पनि गीतका शब्दहरुले बोलेका छन् ।

तिरी कहिल्यै नतिरिने सामन्तको रिण
जति काम गरे पनि हामी गरिब किन
फर्की म त आउँदैछु छिट्टै
गाउँका साथी लिएर साथैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

यहाँ सारा शहरमा रहेछन् सचेत साथी
चेतना र एकताको हिड्छन् सन्देश बोकी
देशै भुली बस्दैनौ अब
विदेशीको धनैको रसैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

चिने आमाको हो शत्रु को हो हाम्रो मित्र
त्यसैले त आगो बल्छ मनभित्र भित्र
घरै छोडी नआउनु कोही
सामन्तको रिण तिर्ने आसैमा
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दशैंमा

यसरी गीतले धन कमाउने रहर साचेर विदेशी भूमिमा नजान नेपालीहरुलाई स्पष्ट रुपमा आव्हान गरेको छ । आफूलाई परदेशी हुन बाध्य पार्ने को हो ? तिनीहरुलाई प्रत्येक परदेशी नेपालीले अब चिन्नु पर्दछ । देशका शासकहरु देश बदल्ने सामथ्र्य बोकेका युवाशक्ति दैनिकरुपमा हजारौंको संख्यामा विदेशिइरहँदा पनि अझ रमाइरहेको छ । उनीहरुले पठाएको रेमिट्यान्सबाट नै देशको अर्थतन्त्र धानिरहेका छन् शासकहरुले । विदेशमा रहेका ती लाखौंलाख परदेशी नेपालीहरुलाई स्वदेश झिकाएर लगाउने कुनै स्पष्ट कामको योजना छैन सरकारसङ्ग ।

यसरी विदेशबाट पठाउने रेमिट्यान्सको भरमा परेर देशको अर्थतन्त्र बलियो हुन सक्दैन । देशलाई बिकास र समुन्नतिको मार्गमा अघि बढाउन स्वाबलम्बी अर्थतन्त्रको निर्माण गर्नु नितान्त जरुरी हुन्छ । त्यसका लागि देशभित्रै प्रशस्त मात्रामा उद्योगधन्दा र कलकारखानाहरुको विकास गरी देशको जनशक्तिले देशभित्रै रोजगारीको अवसर पाउने अवस्था सिर्जना गरिनु पर्दछ । तर त्यो अवस्था आफै सिर्जना हुँदैन । त्यसका लागि जनपङ्तिबाट नै सशक्त दबाब सिर्जना गरिनु पर्दछ । परदेश गएका दाजुभाइ, दिदीबहिनीहरुले आफूलाई परदेशी बनाउन बाध्य पार्ने देशको थिति र नीति हो भन्ने तथ्यलाई बुझ्नु पर्दछ । आफ्नो शत्रु को हो र मित्र को हो भनेर उनीहरुले खुट्टाउन सक्नु पर्दछ ।

गीतले स्पष्टरुपमा त्यही सन्देश दिन खोजेको छ– सामन्तको रिण तिर्ने आशमा कोही पनि विदेश नजानू । बरु आफूलाई विदेसिन बाध्य पार्ने देशको नीति र थिति बदल्ने काममा लाग्नू । दबाब दिएर, संघर्ष गरेर देशभित्र नै रोजगारीको अवसर सिर्जना गर्न सरकारलाइ बाध्य पारौं । यसरी सधैभरि परदेशिएर हाम्रो समस्याको समाधान हुने छैन । स्वाबलम्बी अर्थतन्त्रको निर्माण नगर्दासम्म देश बिकासको गतिमा अघि बढ्न सक्दैन । त्यसैले हाम्रो देशको राज्यसत्ताको अर्धसामन्ती र अर्धऔपनिवेशिक जुन चरित्र छ, हामीले सबैभन्दा पहिले राज्यको त्यो मूल चरित्रमा बदलाब ल्याउन जरुरी छ ।

राज्यसत्ताको त्यो मूल चरित्र नबदल्दासम्म रोजगारीका लागि विदेसिनुपर्ने यो बाध्यता रोकिने छैन । आफ्ना सन्ततिहरु, जहान, लालाबालाहरुको पेट पाल्नकै लागि परदेशिनुपर्ने यो बाध्यात्मक अवस्थाको अन्त्यका लागि हरेक आमाबाबाहरुले आफ्ना सन्तानहरुलाई स्वदेश फर्किएर देशको थिति बदल्ने काममा लाग्न आव्हान गर्नु पर्दछ । विदेशमा रहेका सम्पूर्ण प्रवासी नेपालीहरु अब स्वदेश फर्किएर राज्यको मूल चरित्र बदल्ने अभियान, देशलाई स्वाबलम्बी अर्थतन्त्रको मार्गमा हिडाउने अभियानमा लाग्नु पर्दछ । जनगायक जीवन शर्माको कालजयी गीत– यसपालि त यस्तै भो आमाले मूलरुपमा त्यही आव्हान गरेको छ ।

यसरी सिर्जना भएको थियो यो गीत
यसपालि त यस्तै भो आमा’ गीतको सिर्जना जनगायक जीवन शर्माले आजभन्दा २० बर्ष अगाडि अर्थात २०५८ सालमा गरेका थिए । २०५८ सालमा म्युजिक नेपालबाट प्रकाशित रक्तिमको एल्बम कालिगण्डकी’भित्र यो गीत समाविष्ट रहेको छ ।

जनताका गीत सङ्गीत लिएर खाडी मुलुकहरुमा पुगेका बेला त्यहाँ पसिना बगाइरहेका श्रमजीवी प्रवासी नेपालिहरुको मनोभावनालाई बुझेर शर्माले यो गीत लेखेका थिए । ‘जनसङ्गीत यात्राको सिलसिलामा २०५८ सालको दशैंछेक हामी युएई पुगेका थियौं । रोजगारीको क्रममा युएई पुगेका श्रमजीवी नेपाली कतिपय छुट्टी पाएर स्वदेश फर्किएका थिए । कतिपय छुट्टी नपाएकाहरु मनभरि पीडा बोकेर त्यहीँ बसिरहेका थिए गीत रचनाकालको पृष्ठभूमि सम्झदै जनगायक जीवन शर्माले भने, ‘प्रवासी नेपालीहरुको त्यस्तो अवस्था त्यो युएईमा मात्र होइन संसारका अरु विभिन्न देशहरुमा समेत उस्तै थियो । संसारैभरि छरिएर रहेका श्रमजीवी नेपालीहरुको त्यही मनस्थितिप्रति सम्वेदनशील भएर यो गीतको रचना गरिएको हो ।’

जनगायक शर्माले भनेझै यो गीतले साँच्चै नै दशैंका बेला घर आउन नपाई संसारका विभिन्न देशमा छरिएर बसेका ती लाखौंलाख परदेशी नेपालीहरुको मनको पीडा बोलेको छ । गीत रचनाकालको त्यो बेला र अहिले परिस्थिति धेरै बदलिएको छ । त्यतिबेला देशमा निरंकुश राजतन्त्रको शासन थियो । अहिले गणतन्त्र आइसकेको छ । तर परदेशी नेपालीहरुको अवस्थामा भने अझै नि तात्विक अन्तर आउन सकेको छैन । बरु रोजीरोटीका लागि परदेशिन पर्ने बाध्यता अहिले झन विकराल बन्दै गइरहेको छ ।

यो अवस्थामा यो गीतको महत्व झनै बढेको बताउँछन् जनगायक शर्मा । ‘अहिले पनि लाखौंलाख प्रवासी नेपालीहरु नेपाल आउन नपाउँदा पीडित भइरहेका छन् । अहिले एकातिर उनीहरुलाई छुट्टी मिल्दैन, अर्कोतिर छुट्टी मिले पनि कोरोना कहरका कारण आउन सहज छैन । यो अवस्थामा यो गीतको महत्व झन उचाईमा उठेको छ’, जनगायक शर्मा भन्छन्, ‘यो अवस्थामा दशैंका बेला आफ्नो देश र गाउँ फर्कन नपाएका ती लाखौंलाख प्रवासी नेपालीहरुमा देशप्रतिको माया र गाउँघरप्रतिको सम्वेदनशीलता अझ तीब्र होस भन्ने अभिप्रायले यसलाई अहिले म्युजिक भिडियोको रुपमा ल्याइएको हो ।’

जसको व्यथा उसकै अभिनय
‘यसपालि त यस्तै भो आमा’ गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । यसमा कुनै बनावटी र कृत्रिम पात्र छैनन् । जसको पीडा र ब्यथा गीतका शब्दहरुले बोकेका छन्, तिनै प्रवासी श्रमजीवी नेपालीहरुको अभिनय यसमा देख्न सकिन्छ । कलाकारहरुले गीतको भावलाई हुबहुरुपमा उतारेका छन् आफ्नो अभिनय र नृत्यमा । रोजगारीका सिलसिलामा संसारका विभिन्न देशमा छरिएर रहेका रक्तिमका पाकापुराना कलाकारहरुकै अभिनय यसमा समाबिष्ट छ । देशभित्र रहँदा रक्तिम साँस्कृतिक अभियानमा रहेर लामो समयसम्म क्रियाशील रहेका ती कलाकारहरु जो अहिले रोजगारीको सिलसिलामा जापानका विभिन्न शहरहरुका होटल, रेष्टुरेण्टहरुमा पुगेर मजदुरी गरिरहेका छन् । कोही दक्षिण कोरियाका कलकारखानामा त कोही भारतका गल्ली गल्लीमा कामको खोजीमा भौंतारिइरहेका छन् । कोही ती कलाकार साथीहरु अरबको तातो बालुवामा पसिना बगाइरहेका छन् । कोही फ्रान्सको सेनामा रहेर युद्ध लडिरहेका छन् । ती कलाकारहरु अहिले जो जहाँ रोजगाररत रहेका छन्, उनीहरुले त्यही आफूले काम गरिरहेकै ठाउँबाट गीतमा अभिनय गरेर भिडियो फुटेजहरु पठाएका छन् । यसरी विदेशका तिनै ठाउँहरुमा प्रत्यक्ष पसिना बगाइरहेका वास्तविक पात्रहरुकै अभिनय यस गीतको म्युजिक भिडियोमा समेटिएको छ । त्यसबाहेक अहिले पनि देशभित्र रहेर जनसाँस्कृतिक यात्रामा अहोरात्र खटिरहेका रक्तिम हस्तीहरुको अभिनय पनि यस गीतमा देख्न सकिन्छ । नृत्य र अभिनय गरी चार दर्जनभन्दा बढी पुराना र नयाँ रक्तिम कलाकारहरुले यसमा अभिनय गरेका छन् । देश बिदेशका विभिन्न स्थानबाट रक्तिम कलाकारहरुले पठाएका ती भिडियो फुटेजहरुको संयोजन जनगायिका निलिमा पुनले गरेकी छन् भने सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा अभिनय गर्ने रक्तिम कलाकारहरुमा सचित्र केसी (जापान), डमर भण्डारी (नवलपुर), मानबहादुर भण्डारी (बाँके), लक्ष्मी रिजाल ‘उदय’ (कैलाली), सुमन रोका मगर (फ्रान्स), धनबहादुर थापा (बागलुङ), जीवलाल शर्मा (दक्षिण कोरिया), बिमल पाण्डे (बागलुङ), हुमाकान्त आचार्य (कतार), शरद लामिछाने (बाँके०, सूर्य थापा सिङ्जाली मगर (भारत), पाण्डेचेरी, प्रकाश बीसी ‘बादल’ (जापान), मनकाजी गुरुङ (भारत), रोपड, लिला परियार (जापान), बलदेब राना (कतार), सुजन थापा (पोखरा), अमर बिक (कतार), खडक पुन (जापान), राजु थापा मगर (भारत), गिरि काउछा (कतार), ऋषिराम पौडेल, नेरु आचार्य र कमल बिक (जापान), उमा गुरुङ (कैलाली), गौरीलाल कार्की (बाँके) र चक्र चनारा (कैलाली) रहेका छन् । यसैगरी म्युजिक भिडियोमा बागलुङबाट प्रदीप श्रीष, विनोद पाण्डे, नरबहादुर केसी, मिलन सुनार, सूर्य पौडेल, मदन भूपाल र खगी बिक कैलालीबाट नृत्य गरेका छन् । त्यस्तै पवित्रा बडु, कृति पुन र धर्मराज जोशी भारतबाट, शारदा गुरुङ, लक्ष्मी गुरुङ, खगी थापा, मन्जु थापा, गोमा थापा, रुपा कार्की, बिनिता कार्की, सीमा शर्मा, मञ्जु शर्मा, रुपा थापा, बाँकेबाट गुणनिधि आचार्य र ईश्वर पाण्डेको अभिनय तथा नृत्य रहेको छ । रक्तिमकै कलाकारहरु केशब राना (काठमाडौं), विशाल थापा मगर ‘कन्चन’ (रुपन्देही) र हरि सर्तुङ्गी (गुल्मी) को नृत्य, बागलुङको प्रथम हाँडीकोट महोत्सवमा प्रदर्शन गरिएका नौमती बाजा टोली र विभिन्न आमा समूहका नृत्यहरु यो गीतको म्युजिक भिडियोमा समेटिएको छ ।

 

रक्तिमका कुशल नृत्यकार विमल पाण्डेको कोरियोग्राफीमा रक्तिम साँस्कृतिक अभियान ढोरपाटन नगर समिति बागलुङका कलाकारहरु र मनकाजी गुरुङको कोरियोग्राफीमा भारत रोपडका रक्तिम कलाकारहरुले निकै सुन्दर नृत्य प्रस्तुत गरेका छन् । देश विदेशका विभिन्न स्थानहरुमा जनगायक जीवन शर्माले यो गीत प्रस्तुत गर्दाका भिडियो फुटेजहरु पनि यसमा समाविष्ट छन् । गीतको म्युजिक भिडियो छायाङ्कन गर्न, जुटाउन र दर्शकस्रोतासम्म ल्याई पुराउँदा प्रत्यक्ष अप्रत्यक्ष रुपमा धेरैको अमूल्य सहयोग रहेको बुझ्न सकिन्छ । म्युजिक भिडियो निर्माणमा सीता पुन, कमल बिक, चित्र बिक, ज्ञान थापा, नाम्गेल मोक्तान र रुद्रा कार्की, मादल रेष्टुरेण्ट (कामता जापान) र रक्तिम साँस्कृतिक अभियान ढोरपाटन नगर समिति बागलुङ लगायतले विशेष सहयोग पुराएका छन् । सबैको एकीकृत प्रयास बाट ‘यसपालि त यस्तै भो आमा’ गीतको एउटा राम्रो म्युजिक भिडियो तयार भएको छ ।

एउटै गीतमा यति धेरै रक्तिम कलाकारहरुले एकैपटक अभिनय गरेको सम्भवतः यो नै पहिलो रक्तिम गीत होला । यस गीतमार्फत जनगायक जीवन शर्माले देश विदेशमा छरिएर रहेका रक्तिम कलाकारहरुलाई एकै ठाउँमा जुटाएका छन् । तर अझ धेरै कलाकारहरुलाई यसमा समेट्न नसकिएको जनगायिका निलिमा पुन बताउँछिन् ।

‘जसको व्यथा र कथा गीतका शब्दहरुले बोकेका छन्, तिनैका प्रतिनिधि पात्रलाई बढीभन्दा बढी संख्यामा समेट्ने हाम्रो चाहना हो । तर कतिपय प्राविधिक र परिस्थितिजन्य कारणहरुले गर्दा हामीले अझ सोचे जति कलाकार साथीहरुलाई यो गीतमा समेट्न सकेनौं’, गीतको म्युजिक भिडियो निर्माणमा संयोजनकारी भूमिका निभाएकी जनगायिका निलिमा पुनले भनिन्, ‘देशको जनसाँस्कृतिक अभियानमा अमूल्य योगदान पुराएका रक्तिम कलाकारहरु जो बाध्यता र विवशताले गर्दा विश्वका विभिन्न देशहरुमा पुगेर अहिले पसिना बगाइरहेका छन्, उनीहरु सबैलाई हाम्रो चाहना हुँदाहुँदै पनि एउटै गीतभित्र समेट्नु त्यो त्यति सम्भव थिएन । यो त हाम्रो सुरुवाती प्रयास मात्र हो । आगामी दिनमा अन्य गीतहरुमा अहिले परिस्थितिजन्य कारणबस छुट्नु भएका सबै कलाकार साथीहरुलाई हामीले समेट्ने प्रयास अवश्य गर्नेछौं ।’ जनगायिका पुनले छोटो समयको प्रयासमा ‘यसपालि त यस्तै भो आमा’ गीतको म्युजिक भिडियो जुनरुपमा निर्माण भएको छ र दर्शक स्रोताबाट जुन प्रतिक्रिया प्राप्त भइरहेको छ, त्यसबाट आफू पुर्णरुपमा सन्तुष्ट रहेको बताइन् । उनले भिडियो निर्माणमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पुराउने सम्पूर्णप्रति हार्दिक आभारका साथ धन्यवाद समेत ज्ञापन गरिन् ।

चेतनामूलक दशैं गीत ।
‘यसपालि त यस्तै भो आमा’लाई मूलतः चेतनामूलक दशैं गीतका रुपमा लिन सकिन्छ । यसप्रकारका जनपक्षीय गीतहरुको तुलना अन्य ब्यवसायिक गीतहरुसङ्ग गर्नु त्यो पटक्कै नसुहाउने कुरा हो । हामी सहजै बुझ्न सक्छौं– यस गीत निर्माण पछाडिको उद्देश्य ब्यवसायिकरुपमा मुनाफा कमाउनु कदापि होइन । समाजलाई चेतनामूलक सन्देश दिनका लागि नै यस गीतको म्युजिक भिडियो निर्माण गरिएकोमा कुनै शङ्का छैन ।

पूँजीवादी गीत र सङ्गीतको बोलबाला चलिरहेको वर्तमान बजारमा यसप्रकारका जनपक्षीय चेतनामूलक गीत र सङ्गीतको यात्रालाई अगाडि बढाउने कार्य निकै जटिल र कठिन छ । तर पनि श्रमजीवी जनताको साथ र सहयोगबाट जनगायक जीवन शर्माले बर्षौंदेखि त्यो कठिक कार्यको सफलतापूर्वक नेतृत्व गर्दै आएका छन् । सीमित साधनस्रोत र आर्थिक अभावका बाबजुद पनि ‘यसपालि त यस्तै भो आमा’को म्युजिक भिडियो जुनरुपमा तयार भएको छ, यसलाई उत्कृष्ट नै मान्नु पर्छ । हुन त यो गीत जनगायक जीवन शर्माको एकल स्वरमा रहेको छ तर पनि यो गीतले जुन भाव बोकेको छ– दशैंमा आफ्नो घर जान नपाएका सम्पूर्ण परदेशी नेपालीहरुको साझा गीत हो यो । दाजुभाइहरु मात्र होइन हाम्रा कैयौं दिदीबहिनीहरु पनि दशैंका बेला परदेशबाट आफ्नो घर आउन पाएका छैनन् । गीतको अभिनयमा ती परदेशी नेपाली चेलीहरुको अभिनयलाई पनि समेट्न सकेको भए अझ राम्रो हुने थियो । तर पनि जति अभिनयहरु समेटिएका छन्, ती सबै यथार्थ र मार्मिक नै छन् ।

यस गीतमा दशैंका बेला आफ्नो घर जान नपाएका प्रत्येक नेपालीहरुले आफ्नै कथा र ब्यथा भेटाउन सक्छन् । यो उनीहरुकै मनको भावना समेटिएको गीत हो । सधैंभरि रोजीरोटीका लागि परदेशिनु पर्ने बाध्यताको अन्त्यका लागि देशमै फर्किन र विदेसिनु पर्ने थितिको अन्त्य गर्ने अभियानमा लाग्न यो गीतले हरेक परदेशी नेपालीलाई अभिप्रेरित गर्दछ ।

निष्कर्षमा भन्नुपर्दा दशैंका बेला आफ्नो घर आउन नपाएका हरेक परदेशी नेपालीको यथार्थ वेदना बोकेको मार्मिक र चेतनामूलक गीतको रुपमा आएको छ, यसपालि त यस्तै भो आमाको म्युजिक भिडियो । दशैंको सम्मुखमा यो म्युजिक भिडियो ल्याएर निकै सराहनीय कार्य गरेका छन् जनगायक जीवन शर्माले । यस्तै जनब्यथा समेटिएका नयाँनयाँ गीतहरु श्रमजीवी जनताले सुन्न पाइराखून् । जनगायक जीवन शर्माको समग्र जनगीति यात्राले सफलताको उच्च शिखर चुम्दै जाओस् । जनगायक शर्मा लगायत ‘यसपालि त यस्तै भो आमा’ गीतको म्युजिक भिडियो निर्माणमा योगदान पुराउने सम्पूर्ण टिमलाई हार्दिक बधाईका साथ यस गीतको सफलताको हार्दिक शुभकामना

आखिर कस्तो छ त जनगायक जीवन शर्माको ‘यसपालि त यस्तै भो आमा‘ गीत ? अब हेरौं भिडियोमा :

You might also like

Leave A Reply

Your email address will not be published.