कोरोना लडाइमा झन्डै हारेको थिए : डाक्टर ध्रुव गैरे

७ कात्तिक, काठमाडौं । होसमा आउँदा उनका वरिपरि डाक्टर र नर्सहरु थिए । उनले आफूलाई वीर अस्पतालकै बेडमा पाए । बेस्सरी टाउको दुखिरहेको थियो । के भइरहेको हो, छुट्याउन सकिरहेका थिएनन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का एशोसिएट प्रोफेसर एवं वीर अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर ध्रुव गैरे कोरोना संक्रमित हुनु अगाडिको अवस्था हो ।

साउनको दोस्रो साता

भर्खरै पहिलो चरणको लकडाउन खुलेको थियो । वीरमा बिरामीको चाप बढ्दै थियो । कोरोनाको ‘हटस्पट’ वीरगञ्जदेखि सर्लाहीसम्मका बिरामी आइरहेका थिए । डाक्टर गैरे आकस्मिक कक्ष, ओपीडी र आइसोलेसन वार्डको ‘राउण्ड’ लगाउँथे । दैनिक १४–१५ जना बिरामी हेरिरहेका उनले लकडाउन खुलेपछि त्यसको दोब्बर बिरामी हेर्नु परेको थियो ।

संक्रमण नहोस् भनेर सम्भव भएसम्मका सुरक्षा अपनाए पनि बिरामी जाँच गर्दा भौतिक दुरी कायम हुन सक्दैनथ्यो । फेरि कतिपय शंकास्पद कोरोना संक्रमित बिरामीले आफ्नो ट्राभल हिस्ट्री बताउँदैनथे ।

१९ साउनमा राति खाना खाँदा डाक्टर गैरेले स्वाद पाएनन् । भोलिपल्ट विहानैदेखि पखाला लाग्यो । बान्ता पनि हुन थाल्यो । ज्वरो र खोकीले पनि आक्रान्त पा-यो । पूरा शरीर कट्कटी खान थालेकाले उनले अस्पताल जाने निधो गरे ।

बोलाएको केही छिनमै एम्बुलेन्स घरमा पुग्यो । उनी २१ गते बिहान ४ बजे वीर अस्पताल पुगे । आकस्मिक कक्षमा पसेर उनले रेजिडेन्ट डाक्टरलाई भने, ‘मलाई कोरोना भएजस्तो छ, सावधान रहेर मेरो पनि उपचार गर । उनले ड्युटी डाक्टरहरुलाई पनि भने, ‘आफू ‘एक्स्पोज’ नभई एक्सरे गर, अनि स्वाब झिक ।

 

पखाला, बान्ता र उच्च ज्वरोसहित लगातारको खोकीले डाक्टर गैरलाई निकै कमजोर बनाएको थियो । रिंगटा लाग्लाजस्तो भइरहेको थियो । एक्सरे, रगत लिने र स्वाब निकाल्ने काम फटाफट हुँदै थियो, ‘क्यानुला’ लगाएपछि उनी बेहोस भए ।

होसमा आएपछि आफ्नो एक्सरे मगाएर हेरे, रिपोर्ट ठिकै थियो । त्यसपछि आकस्मिक कक्षबाट आइसोलेसन क्याबिनमा सारिएका उनलाई ड्युटी डाक्टरहरुले सोधे, ‘निकै कमजोर हुनु भएको छ, के एण्टिबायोटिक्स चढाउने ।

उनलाई आफ्नै निर्देशनअनुसारको एण्टिबायोटिक औषधी पनि दिन थालियो । ज्वरो रातिसम्म १०४ डिग्रीबाट घटेन । ल्याबका कर्मचारीले भने,डाक्टर साब, पोजेटिभ भएपनि तपाईंको भाइरस लोड कम छ ।’

प्रयोगशालाको टेक्निकल शब्द राम्रोसँग नबुझेपछि उनले सोधे, ‘भाइरस लोड कम भए के हुन्छ ?’

ल्याबका कर्मचारीले भने, ‘संक्रमित भएपनि तपाईंबाट अरुमा सर्दैन । तपाईंलाई पनि धेरै क्षति गर्दैन ।’

उनी ढुक्क भए । भन्छन्, ‘मेरो सम्पर्कमा आएकाहरुलाई सरेको छैन, अब पनि सर्दैन भन्ने कुराले सारा चिन्ता दूर भयो ।’

र पनि, डाक्टर गैरेको परिवार र अस्पतालमा क्लोज कन्ट्याक्टमा रहेका सबैको परीक्षण गरियो । नभन्दै, कोही संक्रमित देखिएनन् । उनी आफैंलाई भने भयंकर शारीरिक पीडा भइरहेको थियो । स्वाँस्वाँ हुन थालेपछि त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ सुवास आचार्यलाई फोन गरेर सोधे, ‘अक्सिजन लेभल घटेर सास फेर्न गाह्रो भयो, के गरौं ?’

डाक्टर आचार्यले सुझाए, ‘अक्सिजन लिन थालिहाल्ने, घोप्टो परेर सुत्ने अनि पानी कम खाने ।’

उनले त्यसै गरे । तर एन्टिबायोटिक्सले काम गरिरहेको थिएन । डाक्टरहरुले औषधि परिवर्तन गरे । तैपनि, ज्वरो र रिंगटा हटेन । अक्सिजन लेभल ८८ मा झर्‍यो ।

रक्तचाप घटेर ९०।६० पुग्यो । आफू खतरामा परेको महसुस गरेर डाक्टर गैरेले फेरि डाक्टर आचार्यलाई फोन गरे, ‘म त झन् अप्ठ्यारोमा परेँ, टिचिङतिर आउनुपर्‍यो ।’

त्यसबेला सरकारले वीरलाई कोभिड अस्पताल बनाइसकेको थिएन, कोभिडका बिरामीका लागि लेभल थ्रीको अस्पताल शिक्षण अस्पताल नै थियो ।

डाक्टर आचार्यले भने, ‘आउनुस्, भर्खरै एउटा बेड खाली भएको छ ।’

एम्बुलेन्सले २३ गते दिउँसो उनलाई शिक्षण अस्पताल पुर्‍याउँदा डाक्टर गैरे आँखा कम देख्ने भइसकेका थिए । कान सुन्न र मान्छे चिन्न पनि गाह्रो हुन थालिसकेको थियो ।

अक्सिजन लेभल ८५ मा झरेको थियो । त्यसको केही घण्टामा अझ घटेर ८० मा पुग्यो । अक्सिजन लेभल ९० भन्दा ओरालो लाग्नुलाई घातक मानिन्छ । उनलाई आफू साँच्चै खतराको रेखाभित्र परिसकेको महसुस भयो ।

‘दुई दिन अघिसम्म बिरामी हेरिरहेको मान्छे, एकाएक कान सुन्न, आँखा देख्न र मान्छे चिन्नसमेत नसक्ने भएँ’, डाक्टर गैरेले सम्झिए, ‘कल्पना गर्नुस्, मेरो मानसिक अवस्था के भयो होला ।’

उनी केही सोच्न, सम्झन सकिरहेका थिएनन् । यत्ति थाहा थियो– म निरीह भइसकेको छु ।

उनलाई डाक्टर आचार्यले भने, ‘नअत्तालिनुस्, डाक्टर साब । तपाईलाई यो विषयमा थाहा भएकाले ‘एञ्जाइटी’ पनि भएको हुनसक्छ । तर हामी तपाईलाई ठीक पार्छौं ।’

तर अक्सिजन लेभल घटेको थाहा पाउँदा पाउँदै कसरी ढुक्क हुने ? नाकबाट लिएको अक्सिजनले पुगिरहेको थिएन । त्यसपछि मास्कबाट १४–१५ लिटर अक्सिजन दिँदा पनि नपुगेपछि हाइ–फ्लो नोजल क्यानुलाबाट पम्प गरियो । त्यति गर्दा पनि डाक्टर गैरेको अवस्थामा सुधार नआएपछि डाक्टरहरुले रेमडिसिभिर औषधि दिने निर्णय लिए ।

औषधि व्यवस्था विभागले स्वीकृति दिन ढिलो गरेकाले त्यतिबेला नेपालमा रेमडिसिभिर उपलब्ध थिएन । पैसा हुनेहरु कालोबजारमा किन्थे । ज्यान बचाउन जति भन्यो, त्यति तिर्न तयार हुँदा पनि पूरा डोज पाइन्नथ्यो ।

डाक्टर गैरेको लागि रेमडिसिभिर लिन एउटा एम्बुलेन्स वीरगञ्जतिर कुद्यो । रातारात गरेर ८ लाख रुपैयाँमा ११ डोज ल्याइयो । रेमडिसिभिर चलाउँदा उनी ३१ डिग्री सेन्टिग्रेड तापक्रममा निरन्तर १६ घण्टा घोप्टो परेर सुते ।

मेसिनले पानीको बाफसँगै फालिरहेको तातो हावा क्यानुलाबाट छिराउन नाकको प्वाल बन्द गरिएको थियो । त्यतिबेला डा। गैरे बेसुर भइसकेका थिए । उनमा घातक निमोनियाको संक्रमण भएको थियो । एण्टिबायोटिक्स र एण्टिभाइरलले काम गरिरहेको थिएन । अब डाक्टर आचार्यहरुसँग अन्तिम वाण बाँकी थियो– प्लाज्माथेरापी ।

डाक्टर गैरेलाई ए पोजेटिभ रक्त समूहको प्लाज्मा चाहिन्थ्यो । त्यसका लागि कोरोना संक्रमित भएर निको भएको १४ दिन काटेर महिना ननाघेको व्यक्तिले रगत दिनपर्थ्‍यो ।

तर, त्यस्तो मान्छे पाउनै मुश्किल, पाएपनि रगत नदिने । किनकी त्यसबेलासम्म नेपालमा जम्मा दुई जनाले प्लाज्माथेरापीबाट उपचार पाएका थिए । ए पोजेटिभ रक्त समूहका संक्रमित खोज्ने प्रयास गर्दा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर वासुदेव पाण्डेबाट आधा दर्जन फोन नम्बर पत्ता लाग्यो । केहीले फोन उठाएनन्, उठाएकाहरुले प्लाज्मा दिन मानेनन् ।

तर दोलालघाटका एक पुरुषले फोन मात्र उठाएनन्, शिक्षण अस्पताल आएर प्लाज्मा दिन तयार भए ।

२५ गते बेलुका ८ बजे प्लाज्मा दिन सुरु गर्दा डाक्टर गैरे सिकिस्त भइसकेका थिए । प्लाज्मा लिएपछि निरन्तर ४ घण्टा घोप्टो परेर बस्न पर्‍यो । शरीरमा अक्सिजन लेभल बढ्दै र श्वासप्रस्वास सहज हुँदै गयो । मनिटरले स्वास्थ्यमा सुधार आएको देखाएपछि आत्मबल बढ्यो र त्यो रात उनी १५ मिनेट निदाउन सके ।

भोलिपल्टदेखि अक्सिजन, रक्तचाप, पिसाबको मात्रा सबै बढ्दै गयो । सबभन्दा सहज त उनलाई सास फेर्न भयो । आठदिन आईसीयूमा बसेपछि बोल्न, हिँड्न र खाना खान थाले । नवौं दिनमा स्वाब दिए । दसौं दिन ड्युटीका डाक्टर आएर भने, ‘बधाई छ डाक्टर साब । अब पोस्ट अपरेटिभ वार्डमा सर्नुपर्छ ।’

राति १२ बजे पोस्ट अपरेटिभ वार्ड खाली भयो । झमझम पानी परेको बेला उनलाई आईसीयूबाट निकालेर पोस्ट अपरेटिभ वार्ड सारी अक्सिजन दिएरै राखियो । उनलाई घर जान मन लागिरहेको थियो । त्यो सुनाउँदा डाक्टरहरुले अक्सिजनको व्यवस्था गरेर घरमै आराम गर्ने अनुमति दिए ।

उपचारका क्रममा डाक्टरले बिरामीलाई गाह्रो छ भन्दा बचाउन गाह्रो भन्ने बुझिन्छ । प्लाज्मा दिनुभन्दा अघिल्लो दिन चिकित्सकहरुले डाक्टर गैरेलाई गाह्रो छ भनेर परिवारजनलाई सुनाएका थिए ।

उनी आफैंले आफूलाई जे पनि हुनसक्छ भन्ने मानेर फोनमा बुबालाई ‘सम्हालिनुस् है भनेका थिए, श्रीमती डाक्टर रश्मी बस्ताकोटीलाई पनि अब आफ्नो ख्याल गर्नू भनेका थिए ।

उनी एम्बुलेन्समा घर फर्किँदा बुवाआमासहित परिवारका सबै गेटमा अधीरतापूर्वक कुरिरहेका थिए । बुबाले हात समाएर एम्बुलेन्सबाट तान्दा डाक्टर गैरेको आँखाको बाँध फुट्यो । केहीबेर खुशीको रुवावासी चल्यो ।

मृत्युलाई जितेर परिवारबीच आएको त्यो क्षण सम्झँदा रुन मात्र मन लाग्छ, गहभरि आँशु पार्दै डाक्टर गैरे भन्छन्, त्यो बेला संसारमा मैले जित्न बाँकी केही छैन भनेजस्तो लाग्यो ।

डाक्टर ध्रुब गैरे २८ असोजमा वीर अस्पतालको आफ्नो कार्यकक्षमा अनलाइनखबरलाई कोभिड–१९ अनुभव सुनाइरहेका थिए । दुईमहिना घर बसेर अस्पताल आउन थालेको सात दिन मात्र भएको थियो ।

तर उनको मांसपेशी अझै पूर्वअवस्थामा आइसकेको छैन । तौल १६ केजी घटेको छ । कोरोना भाइरसले उनको फोक्सोमा बढी आक्रमण गरेकाले अझै औषधि खाइरहेका छन् ।

पूर्ववत् लयमा फर्कने कोशिसमा रहेका उनलाई घरमा आराम गर्न पूरा छुट छ, तर बिरामीको सेवामा जुट्न चाहन्छन् । यो नयाँ जीवनलाई सार्थक बनाउने कुरा पनि हो, कोरोनालाई जितेर फर्किएका उनी भन्छन्, महामारीका बेला अस्पताल आएर एकजना मानिस बचाउन सक्दा पनि ठूलो उपलब्धी हुन्छ ।’

बिरामीहरुलाई हेर्दा समय बिताउन पनि सजिलो हुने उनको अनुभव छ । उनी भन्छन्, ‘दिनहुँ बिरामीको जीवनसँग जोडिने मान्छे घरमा बस्दा सकस हुने रहेछ ।’

अहिले कोरोना संक्रमण झन् भयावह बनेको डाक्टर गैरेलाई थाहा नहुने कुरै भएन । यस्तो बेला सतर्क नभए परिवारै सखाप हुनसक्ने उनले देखेका छन् ।

त्यसैले सबैलाई डाक्टर गैरेको सुझाव छ, हरेक परिवारले अक्सिमिटर किनेर राख्नुस् । संक्रमित भएको आशंका लाग्नासाथ अक्सिमिटरमा अक्सिजन लेभल हेर्नुस् । ९० भन्दा कम देखिए आफू खतरामा परेको बुझेर तुरुन्त अस्पताल जाने तयारी गर्नुस् । अक्सिजन घटेको छैन, तर अरु लक्षण छ भने घरमै आइसोलेट भएर उपचार गर्दा हुन्छ ।’

तस्वीर र भिडियो : चन्द्रबहादुर आले र आर्यन धिमाल अनलाइनखबरबाट

You might also like

Leave A Reply

Your email address will not be published.