गौतमबुद्ध कप : नारायणीको विजयी सुरुवात, बागमती सुपर ओभरमा पराजित

मंसिर २७, २०७७ – चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी सुरुवात गरेको छ ।
करण केसीले उत्कृष्ट प्रदर्शनसँगै गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको छ ।

निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण केसीले सोमपाल कामीको ओभरमा ४ छक्का प्रहार गरे ।

जवाफमा बागमतीले २० रन मात्र बनाउन सक्यो । नारयणीका करण नै बलिङमा आएका थिए । कप्तान ज्ञानेन्द्र मल्ले ३ छक्का प्रहार गरेपनि बागमतीले २० रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । खराब सुरुवात गरेपनि विक्रम सोब र राशिख खानले आक्रमक ब्याटिङ गरेपछि बागमतीले सय रन कटाएको हो ।

ओपनर सुनील धमलाले सर्वाधिक ३७ रन बनाए । यस्तै विक्रम सोब पनि ३७ रनमै अविजित रहे भने रासिद खानले २७ रन योगदान गरे । बलिङमा नारायणीका शहाब आलमले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए ।

११८ रनको लक्ष्य पछ्याएको नारायणीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रनमै नै बनायो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाए भने सिद्दान्त लोहनीले २० रन जोडे ।

बलिङमा बागमतीका सोमपाल कामीले २ विकेट लिएभने सागर ढकाल, पवन सर्राफ, विक्रम शोव र ललित नारायण राजवंशीले समान एक विकेट हात पारे ।
वाग्मती प्रदेश क्रिकेट संघको आयोजना तथा चितवन क्रिकेट संघको संयोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा तीन टिम बागमती, नारायणी र राप्तीको सहभागीता रहेको छ ।

वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीका समेत कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले गर्नुभएको छ । यस्तै नारायणीको कप्तान सुबास खकुरेल रहनुभएको छ । यसअघि पूर्वराष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकोमा पारसलाई कोरोना पुष्टि भएपछि सुबासले कप्तानी सम्हाल्नुभएको हो । राप्तीको कप्तानमा विनोद भण्डारी रहनुभएको छ ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ ।

You might also like

Leave A Reply

Your email address will not be published.