गाैतमबुद्ध कप : राप्ती र नारायणी फाइनलमा, बागमती बाहिरियो 

चितवन । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत राप्ती टिम फाइनल प्रवेश गरेको छ । आइतबार बागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।

भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लगातार दोस्रो खेलमा पराजित बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।

१ सय ३० रनको मध्यम लक्ष्य पछ्याएको बागमती २ बल बाँकी छँदै अलआउट भयो । बागमतीका सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । उनले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै अनिल शाहले २२ रन जोडे ।  रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३/१३ रन बनाउँदा सुनिल धमलाले ११ रनको योगदान गरे ।

रोमाञ्चक खेलको १८ औं ओभरमा अविनासले लगातार विकेट लिएपछि राप्तीले सहज जित निकालेको हो राप्तीका कमल सिंह ऐरी, अविनास बोहरा र बसन्त कार्कीले समान २/२ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेकाे राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रन बनायो ।राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३३ बलको सामना गरेका अमितले २ चौका र छक्का प्रहार गरेका थिए । शरद भेषावकर र कप्तान बिनोद भण्डारीले समान २१/२१ रन जोडे । यस्तै लोकेश बमले १५ तथा कमल सिंह ऐरीले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

 

बागमतीका सोमपाल कामी, सगर ढकाल र रशिद खानले समान २/२ विकेट लिए । यस्तै ललित राजबंशी र बिक्रम सोबले १/१ विकेट हात पारे ।

 

शनिबार भएको पहिलो खेलमा बागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो । फाइनलमा राप्ती र नारायणी भिड्ने छन् ।

दुवै टोली एक खेल अगावै फाइनल पुगेका हुन् । सोमबार फाइनल पुगेका राप्ती र नारायणीको औपचारिक खेल हुनेछ । मंसिर ३० गते फाईनल खेल खेल्नेछन् ।

कोरोनाका कारण प्रभावित बनेको घरेलु खेलकुदलाई चलायमान बनाउन बागमती प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो ।

You might also like

Leave A Reply

Your email address will not be published.