रोबर्ट लेवान्डोस्कीले जिते ‘द बेस्ट’ अवार्ड

 

एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् ।

अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । पोलिस फरवार्ड लेवान्डोस्कीले भने बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

महिलातर्फ खेलाडीमा इंग्ल्यान्डकी लुसी ब्रोन्जले द बेस्ट अवार्ड जितिन् । डेनमार्ककी पेर्निल हार्डर र फ्रान्सकी वेन्डी रेनार्ड शीर्ष तीन मनोनयनमा परेका थिए ।

महिलातर्फ प्रशिक्षकमा नेदरल्यान्डकी सारिना विग्मन द बेस्टको उपाधि जित्न सफल रहिन् । उनले चेल्सीकी एम्मा हेअस र लियोनका जेन भासेरलाई मनोनयनमा पछि पारेकी हुन् ।

पुरुषतर्फ प्रशिक्षकको द बेस्ट उपाधि लिभरपुलका योर्गेन क्लोपले जिते । लिड्स युनाइटेडका मार्सेलो बिएल्सा र बायर्नका हान्स फ्लिक पनि शीर्ष तीन मनोनयनमा परेका थिए ।

इटालीका माटिया अग्नेसेले फिफा फेयर प्ले अवार्ड जिते । उनले इटालीको युवा श्रेणी लिग अन्तर्गत विपक्षी खेलाडी मैदानमा लडेपछि तुरुन्त फर्स्ट एड उपचारका रुपमा सास फेर्न गाह्रो भएपछि सहयोग गरेका थिए । त्यसै सहयोगको कारण नै स्वास्थ्य टोलीले उनलाई बचाउन सफल भएको थियो ।

फिफा फ्यान अवार्ड ब्राजिलका फ्रान्सिस्को मारिभाल्डोले जिते ।

महिलातर्फ द बेस्ट गोलरक्षकको उपाधि फ्रान्सकी सारा बौहाद्दीले जितेकी छिन् । मनोनयनमा लियोनकी बौहादीसँगै पिएसजीकी क्रिस्टियन एण्डलर र अमेरिकी अलिसा नेहर रहेका थिए ।

पुरुषको द बेस्ट गोलरक्षक जर्मन कप्तान म्यानुएल नोएर चुनिए । उपाधिका लागि लिभरपुलका एलिसन बेकर र एटलेटिको म्याड्रिडका जान ओब्लाक पनि मनोनयनमा थिए ।

फिफाले उत्कृष्ट गोलका लागि प्रदान गर्ने पुस्कास अवार्ड टोटेनहमका सन ह्युङ मिनले जितेका छन् । उनले गत सिजन बर्नलीविरुद्ध प्रिमियर लिगमा गरेको गोलले अवार्ड जितेको हो । उक्त गोलका लागि उनले आफ्नै हाफबाट बल अघि बढाउँदै उत्कृष्ट गोल गरेका थिए ।

You might also like

Leave A Reply

Your email address will not be published.