मन्त्रीपरिषदका २० मन्त्री तथा राज्यमन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण

१३ माघ २०७७, मंगलवार
काठमाडौँ। सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति सार्वजनिक गर्नुपर्ने नियम भए पनि मन्त्रिपरिषदका २० मन्त्री तथा राज्यमन्त्रीले सम्पत्ती विवरण अझै सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्रीले हरेक भाषणमा आफ्नो सरकार भ्रष्टाचार निवारण र सुशासन कायम गराउन सफल भइरहेको दाबी गरिरहे पनि उनकै मन्त्रिपरिषदका २० मन्त्री तथा राज्यमन्त्रीले कानुन अनुसार सम्पत्ति विवरण सार्वजनिक नगरेका हुन्। भ्रष्टाचार निवारण ऐनको दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पदधारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति सार्वजनिक गर्नुपर्ने भन्ने व्यवस्था छ । यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको प्रावधान अनुसार पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक नगरे कारबाही हुने व्यवस्था गरिएको छ।

ओली नेतृत्वको मन्त्रिपरिषदमा २२ मन्त्री र ३ राज्यमन्त्री गरी २५ जना सदस्य छन्। यसमध्ये प्रधानमन्त्री ओलीसहित ५ जना मन्त्रीको सम्पत्ति विवरण मात्रै सार्वजनिक भएको छ। बाँकी १७ जना मन्त्री र ३ राज्यमन्त्रीको सम्पत्ति विवरण गोप्य छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३१ क (२) बमोजिम ६० दिनभित्र सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिलाई आयोगले ५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ भने अर्को ३० दिनभित्र सम्पत्ति विवरण पेश गर्न लगाउने छ, सो म्यादभित्र पनि सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेको व्यक्ति उपर निजले आफ्नो वा आफ्नो परिवारको नाममा अबैध सम्पत्ति राखेको अनुमान गरी छानविन गर्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ।

कानुन अनुसार सम्पत्ति सार्वजनिक गर्नेमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषि तथा पशुपन्छीमन्त्री पद्माकुमारी अर्यालको मात्रै रहेका छन्।
प्रधानमन्त्री सहित मन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमा सार्वजनिक रुपमा राख्ने गरिएको छ। उत्त वेबसाईडका अनुसार हालसम्म उर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, सहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी, कानुनमन्त्री लिलानाथ श्रेष्ठ, सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना, बनमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा जेष्थ नागरिक मन्त्री दावा लामा तामाङ र युवा तथा खेलकुद मन्त्री जुलीकुमारी महतो र उद्योग राज्यमन्त्री बिमला विकले सम्पत्ति विवरण गोप्य राखेका छन्।

You might also like

Leave A Reply

Your email address will not be published.