आज आमाको मुख हेर्ने दिन विषेश रचना

श्याम लाल गौतम

आमा तिमी जिवितै छौ

प्रत्यक खस्रा हातको छुवाईमा
पट्पटी फुटेका कुर्कुच्चामा
नौनीको कोमलतामा
जिरा मरिच अदुवा र ज्वानोको वासनामा
हरेक आँशुको थोपामा
अर्ने राख्ने खोपामा
घिऊ राख्ने हर्पेमा
आटो तताउने ताप्केमा
चिनी खुदो मिस्री राख्ने मदुसमा
कोइरालो भुटुक काप्रो आदिको
अचारमा
तिज गितको सुमधुर आवाजमा
मडेउरी बुलाँकी र ढुङ्रीमा
बाह्र हाते पटुकीमा
गाढा रातो पछेउरीमा
निधारको टिकी र शीरको सिन्दूरमा
पूजा कोठीको बत्तीमा
कपासको बातीमा
तुलसीको मैरोको सजावटमा
चाडवाड र उत्सवमा
संगिनी रतेउली र ठट्टेउलीमा
असारे गित र रोपारेहरुको भिडमा
गुन्द्रीको बुट्टेदार बुट्टामा
गुन्द्रुकको गन्धमा
मसेउराको आकारमा
रातो माटोले पोतेको पिंडी र आँगनमा
सिमीको उकेरामा
लसुनबारीमा छरेको खरानीमा
जडिबुटीको पात पात जरा जरामा
चुहिने गाग्री लोटा र सिलोटको थालमा
भुस भरेर बनाएको सिरानीमा
भुल्ला तन्काएर बनाएको डसनामा
मसी भर्ने कलाम र कितावको गातामा
दिदीलाई जन्माएको चौपारीमा
भाइलाई जान्म दिएको मझेरीमा
सवै भाइ बहिनी र छोराछोरीमा
हरेक वासना आवाज स्वाद दृश्य र छुवाईमा
मन मष्तिस्क र मुटुमा
यत्रतत्र सर्वत्र तिमी छौ आमा
कसरी भन्न सक्छु म तिमी छैनौ भनेर
मेरी आमा तिमी जिवितै छौ।
मेरी आमा तिमी जिवितै छौ।

You might also like

Leave A Reply

Your email address will not be published.