चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि

एजेन्सी – लन्डन क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोलमा चेल्सीले सिटीलाई १-० ले हरायो ।

चेल्सीले सन् २०१२ पछि उपाधि जित्दै क्लब इतिहासमा च्याम्पियन्स लिग उपाधि संख्या दुई पुर्याएको छ । म्यानचेस्टर सिटी भने फाइनल पुगेको पहिलो अवसरमा उपाधिबाट विमुख हुनु पर्यो । सिटीले अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सीले पहिलो हाफमा गरेको गोलकै भरमा उपाधि जित्न सफल रहयो ।

चेल्सीले पहिलो हाफको अन्त्यतिर हाभर्ट्जको गोलमा अग्रता लिएको थियो । मेसन माउन्टले आफ्नै हाफबाट दिएको उत्कृष्ट थ्रु पासलाई हाभर्ट्जले गोलरक्षक एडरसन मोराएसलाई छलाउँदै गोल गरेका थिए । चेल्सीले दोस्रो हाफको ७३ औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर खेर फालेको थियो । क्रिस्टियन पुलिसिचको प्रहार गोलरक्षक बिट भएपनि पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा मिडफिल्डर केभिन डे ब्रुएन चोट लागेपछि मैदान छाड्न बाध्य भए । डिफेन्डर एन्टोनियो रुडीगरसँग जुध्न पुग्दा उनको अनुहारमा चोट लागेको थियो । त्यसपछि सिटीले लगातार खेलाडी परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड सर्जियो अगुएरोले सिटीका लागि अन्तिम खेल हारका साथ अन्त्य गरे । चेल्सीले पनि पहिलो हाफमा नै अनुभवी डिफेन्डर थियागो सिल्भालाई चोटका कारण गुमाएको थियो ।

प्रकाशित मिती:- २०७८/०२/१६ गते, आइतबार ।

You might also like

Leave A Reply

Your email address will not be published.