सरकारलाई दीर्घकालीन असर काम नगर्न विपक्षी दलको चेतावनी


काठमाडौं । पाँच विपक्षी गठबन्धनको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी दिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले वैकल्पिक सरकार दावी गरिएको अवस्था रहेकाले अहिलेको सरकारले दीर्घकालीन कामकारवाही गर्न नमिल्ने भन्दै सरकारलाई त्यस्तो चेतावनी दिएको हो ।

बैठकले संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्तामा आग्रहसमेत गरेको छ ।

बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको संयुक्त विज्ञप्तिमा सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायलाई आग्रह पनि गरिएको छ ।

बैठकले सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने पनि विश्वास लिएको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिती:- २०७८/०२/१६ गते, आइतबार ।

You might also like

Leave A Reply

Your email address will not be published.