शेखर कोइराला बने ‘कमरेड’

मोरङको क्षेत्र नम्बर ६ अन्तर्गत विराटनगरको ४ नम्बर वडाको पिपलचोकमा आयोजित चुनावी अभियानका क्रममा कांग्रेस नेता डा.शेखर कोइरालालाई माओवादी कार्यकर्ताले ‘कमरेड’ भनेर सम्बोधन गरेका छन् । डा. कोइरालालाई ‘कमरेड’ भनिएपछि केहीबेर कार्यक्रममै हाँसोको फोहोरा छुटेको थियो ।

कार्यक्रममा सम्बोधनका लागि कोइरालालाई निम्त्याउनुपर्ने थियो । माओवादीका स्थानीय नेता नवराज विष्टले प्रदेश सांसदका उम्मेदवार जीवन आचार्यको सम्बोधनपछि कोइरालालाई बोलाउने क्रममा ‘कमरेड’ भनेका हुन् । त्यसपछि उनले आफ्नो भनाइलाई सच्याए । यद्यपि कार्यक्रममा हाँसो छुट्यो ।

त्यसपछि हँसिलो मुद्रामा सम्बोधन गर्न आएका कोइरालाले भने, ‘गठबन्धनमा गइसकेपछि यो कमरेड भन्ने चलन कुनै खराब होइन, यो राम्रै हो, यसलाई हामीले अन्यथा लिनु हुँदैन ।’ संविधानलाई रक्षा गर्न, लोकतन्त्रलाई मजबुत बनाउन, सुशासन दिनका लागि गठबन्धन गरिएको दाबी गरेका कोइरालाले माओवादीका तर्फबाट प्रदेशसभामा उम्मेदवार बनेका जीवन आचार्यका लागि ‘हँसिया हथौडा’मा भोटसमेत मागे ।

‘कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार म आफै छु, रुख चिन्हमा भोट दिएर जिताउनु हुनेछ,’ कोइरालाले भोट माग्दै भने, ‘त्यस्तै प्रदेशसभामा युवा जीवन आचार्य हुनुहुन्छ नेकपा माओवादीबाट, उहाँलाई गोलाकारभित्र हँसिया हथौडा छ, त्यसमा चिह्न लगाएर विजयी गराउनु हुनेछ भन्ने विश्वास छ । के का लागि ? विकासका लागि । के का लागि ? लोकतन्त्रका लागि । के का लागि ? संविधानको रक्षाको लागि ।’

कोइरालाले विराटनगरको ४ नम्बर वडामै राजवंशी चोकमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार बनाउन माओवादी र एकीकृत समाजवादीले साथ दिएको भन्दै प्रशंसा पनि गरेका थिए । उनले मत हाल्ने तरिका सिकाउँदै प्रत्येक कार्यक्रममा प्रदेशसभातर्फ र प्रतिनिधिसभाका उम्मेदवार आचार्य र उनी स्वयंका लागि हँसिया हथौडा र रुख चिन्हमा मत माग्ने गरेका छन् ।

उनले सोही कार्यक्रमको सम्बोधनको अन्तिममा ‘भोट केमा ?’ भन्दा ‘रुखमा’ भन्दै नारा लगाउन पनि आग्रह गरे । सोही अनुसार सहभागीले नारा लगाए ‘भोट के मा ? रुखमा ।’ फेरि कोइरालाले भने, ‘फेरि अर्को पनि भन्नु पर्यो नि त ।’ एकछिन हाँसो चल्यो । फेरि कोइरालाले सुरु गरे, ‘भोट के मा ?’ सहभागीले भने, ‘हँसिया हथौडामा ।’

गत स्थानीय निर्वाचनमा हँसिया हथौडामा मत हाल्न कांग्रेसका समर्थकलाई बाध्य बनाएको भन्दै सभापति शेरबहादुर देउवाको आलोचना गर्ने कोइरालाले अचेल भने दैनिक आयोजना हुने आधा दर्जन कार्यक्रममा यसरी नै भोट मागिरहेका छन् ।

कोइरालालाई माओवादीका पोलिटब्युरो सदस्य गोपी अछामीको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताले निरन्तर साथ दिइरहेका छन् भने कोइरालासहितका कांग्रेस नेताहरूले आचार्यलाई साथ दिइरहेका छन् । कार्यक्रममा माओवादीका तर्फबाट क्षेत्र नम्बर ६ (क)बाट उम्मेदवार बनेका जीवन आचार्यले पनि प्रतिनिधिसभातर्फ रुख चिन्हमा र प्रदेशतर्फ हँसिया हथौडामा मतदान गर्न अपिल गरेका थिए ।

उनले विराटनगरको विकास र समृद्धिका लागि आफूहरूले जित्नैपर्ने दाबी गरे । विराटनगरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने बताउँदै आचार्यले शिक्षा, स्वास्थ्य र रोजगारलाई आफूहरूले प्राथमिकतामा राखेको बताए ।

आचार्यले विराटनगर एयरपोर्टलाई क्षेत्रीयस्तरमा विकास गर्न डा. शेखर कोइरालालाई सहयोग गर्ने, केशलिया खोलामा तटबन्ध निर्माण गर्न पहल गर्ने पनि बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार