अन्तर विद्यालय नगरस्तरीय लोकनृत्य प्रतियोगितामा बुटवल एक्सआर्मी प्रथम

बुटवल, ७ भदौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल( प्याब्सन) बुटवल नगर समितिको आयोजनामा अन्तर विद्यालय नगरस्तरीय लोकनृत्य प्रतियोगितामा बुटवल एक्सआर्मी बोर्डिङ्ग स्कुल प्रथम भएको छ ।

बुटवलमा बिहीबार आयोजित प्रतियोगितामा गार्गी एकेडेमी द्वितीय, लुम्बिनी बोर्डिङ्ग स्कुल तृतीय र अक्सफोर्ड मा.वि.ले सान्त्वना स्थान प्राप्त गरेका छन् । विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्लाका १६ वटै पालिकाबाट छनौट भएका विजेताहरु, जिल्ला समितिले आयोजना गर्ने प्रतियोगिता तथा जिल्लाबाट छनौट भएका विजेताहरु प्रदेश र प्रदेशबाट छनौट भएका विजेताहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागीता जनाउने भएका छन् ।

प्रतियोगितामा टिकाराम गैरे, सुमन थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगितामा प्याब्सनमा आवद्ध २२ वटा विद्यालयहरुको सहभागीता रहेको प्याब्सन बुटवल नगर समितिका सचिव रामकृष्ण खनालले जानकारी दिए ।प्रतियोगिताको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाई, हरियाली र उज्यालो बुटवललाई प्राथमिकतामा राखेको बताउँदै त्यसमध्ये शिक्षा पहिलो प्राथमिकता रहेको बताए ।

उनले सफा,सुन्दर र हरियाली बुटवल बनाउन हरेक शुक्रबार टोलटोलमा सरसफाई अभियान सञ्चालन गरिएको बताउँदै निजी विद्यालयलाई पनि उक्त अभियानमा हातेमालो गरी अघि बढ्न आग्रह गर्दै शिक्षाको सवालमा हरेक किसिमबाट सहकार्य र आवश्यक समन्वयका लागि नगरपालिका आउन आग्रह गरें ।
कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका जिल्ला अध्यक्ष अनन्तराम शर्माले निजी एवं सामुदायिक विद्यालयलाई प्रत्यक्ष असर पार्ने शिक्षा ऐन स्थगित गर्न सहयोग गर्ने सबैलाइ धन्यवाद व्यक्त गरेका थिए । उनले ऐनको विरुद्धमा आन्दोलनको तयारी समेत गरिरहेको बताउँदै ऐनलाई आफुहरुका माग अनुसार सच्याउन माग गरें । उनले बुटवल विभिन्न पालिकाहरुले विद्यार्थीहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराएको अवस्थामा बुटवलले पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा प्याब्सन बुटवल नगर समिति अध्यक्ष कुलानन्द पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेल, अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवालीलगायतले बोलेका थिए । कार्यक्रममा न्यू होराइजन मा.वि बुटवलका प्राचार्य तथा हिसानका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, अक्सफोर्ड मा.वि. बुटवलका प्राचार्य तथा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, प्याब्सन बुटवलका पूर्व अध्यक्ष कुलराज शर्मा, ज्ञानपुञ्ज ईङलीस बोर्डिङ स्कुलका प्राचार्य तोयाराम पौडेल, मदरल्याण्ड इङलीस स्कुलका प्राचार्य मणिरत्न भण्डारी, इडन इङलीस बोर्डिङ स्कुलका प्राचार्य शिवहरि भट्टराई, गार्गी एकेडेमीका प्राचार्य भुवन अभिकारीलगायतको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिका भित्र ५९ वटा विद्यालय प्याब्सनमा आवद्ध रहेको प्याब्सन बुटवल उपाध्यक्ष मित्रहरी आचार्यले जानकारी दिए । उक्त कार्यक्रमको संयोजक समिट बोर्डिङ स्कुलका शिक्षक टंक प्रसाद रेग्मी, सहसंयोजकहरुमा भुवन अधिकारी र शिवप्रसाद भट्टराई रहेका थिए । उक्त कार्यक्रमको सञ्चालन प्याव्सन बुटवल नगर सचिव रामकृष्ण खनालले गरेका थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार