उदाउँदो सूर्यलाई अर्घ दिँदै सकियो यस बर्षको छठ

बुटवल । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ सकिएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका ब्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको चिडियाखोलास्थित तिनाउ नदी किनार, भैरहवा, गैडहवा गाउँपालिकाको सूर्यपुरा तथा शुद्धोधन गाउँपालिकाको सिसवास्थित दानव नदी किनारलगायतका पोखरी, ताल तलाउ, खोला र नदीमा विहान श्रद्धालुहरुको घुइँचो लागेको थियो ।

बिशेष गरी तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउदै आएको यस पर्वलाई पछिल्ला वर्षहरुमा पहाडी मूलका महिलाहरुसमेत पूजाका लागि आउने क्रम बढेको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले बताए । छठलाई सदभाव र खुसीको पर्वका रुपमा लिन थालिएको बताउँदै उनले यसले एकताको सन्देश दिएको बताए ।

सूर्यपुरास्थित दानव नदी किनार सन्तेश्वर घाटमा लाग्ने जिल्लाकै सबैभन्दा ठुलो छठ मेलाले गाउँपालिकाको धार्मिक पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने उनको भनाई छ ।

विगत पन्ध्र वर्षदेखि लाग्दै आएका मेलामा यो वर्ष करिब दश हजार श्रद्धालुहरु सहभागी भएको उनले बताए । मेलाका लागि पुजा समिति बनाएर स्थानीयबाट आर्थिक संकलन गरिएको र कार्यक्रम व्यवस्थित र भव्य बनाउन गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको थियो ।

लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, बाँके र रुपन्देही जिल्लाको भैरहवा, बुटवल, सूर्यपुरालगायतका अन्य ग्रामीण क्षेत्रहरु बेथरी, बनगाई, धकधई, मर्चवार, लुम्बिनी लगायतका स्थानमा धुमधामका साथ छठ पर्व मनाइएको छ ।

चार दिनसम्म मनाइने छठ पर्व कार्तिक शुक्ल चतुर्थीको दिनदेखि सुरु भई कार्तिक शुक्ल सप्तमी तिथिका दिन सम्पन्न हुन्छ । छठ पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि मनाइन्छ । जसरी दीपावलीको तयारी १५ दिन अघिदेखि सुरु हुने गर्दछ त्यसरी नै छठ पर्वको तयारी पनि एक हप्ता पहिलेदेखि नै सुरु हुने गर्दछ ।

यो पर्वमा खासगरी सूर्यदेवको उपासना गरिन्छ । हिन्दू धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । त्यसले गर्दासमेत यस पर्वको परम्परालाई उक्तरुपले नै देखिन्छ । गरिब, धनी, दलित एवं उँचनिचको ख्याल नगरी यो पर्व समाजमा रहेका सबै वर्ग एकसाथ मिलेर मनाउने गरेका छन् ।

सूर्य देवतालाई पहिलो दिनको अघ्र्य अर्पण गरिन्छ जसलाई मैथिली भाषामा ‘सझुँका अघ्र्य’ भनिन्छ । सूर्य देवतालाई खास गरी उक्त दिन अघ्र्य दिइने गरिन्छ जुन दिन उदयकालमा केहीबेरका लागि भए पनि षष्ठी तिथि परेको होस् ठीक त्यसैअनुरुप उदयकालमा दिइने अघ्र्यका लागिसमेत त्यही विधि अपनाइन्छ र उक्त दिन पनि सप्तमी तिथि नै रहेकाबेला ‘भोरका अघ्र्य’ दिइन्छ ।

छठ पूजामा जुन सामग्री साँझको समयमा सूर्य देवतालाई प्रसादका रुपमा अघ्र्य अर्पण गरिन्छ उक्त प्रसाद नै पुनः बिहानको समयमा अर्थात ‘भोरका अघ्र्य’ मा दिइने परम्परा छ ।

सूर्य देवतालाई अर्पण गरिएको प्रसाद साँझदेखि बिहानसम्म जलाशयमा बनाइएको घाटमा नै राखिन्छ तर केही स्थानमा नदीमा अचानक आउने बाढी, जनावर वा असुरक्षाका कारण घाटबाट प्रसाद घर लगिन्छ र बिहानपख सूर्य उदाउनुभन्दाअगावै पुनः त्यो प्रसाद घाटमा ल्याई छठ पर्व मनाइन्छ ।

छठ व्रत गर्ने सबैजना चौठी तिथिका दिन नुहाइधुवाइ गरी चोखो भई ‘अर्वाअर्वाइन’ खाने गर्दछन् । यही तिथिका दिनदेखि छठ पर्व औपचारिकरुपमा प्रारम्भ हुने गर्दछ । यसदिन व्रत गर्ने महिला र पुरुष नुहाई धुवाइ गरी शुद्ध वस्त्र लगाई शाकाहारी भोजन खाने गर्दछन् ।

कार्तिक शुक्ल पञ्चमी तिथिका दिनभरि पर्व गर्ने व्रतालु उपवास गर्ने गर्दछन् । उक्त दिन साँझमा माटोले बनाइएको नयाँ चुलोमा नयाँ माटोको भाँडामा अर्वा चामलको खीर बनाउने गरिन्छ ।

सख्खर हालेर बनाइएको खीर देवी देवतालाई प्रसादका रुपमा चढाइन्छ र उक्त प्रसादस्वरुप खीर व्रतीका साथै घरका अन्य सदस्यहरुले ग्रहण गर्ने गरेको जानकारहरुको भनाइ छ ।

कार्तिक शुक्ल षष्ठी तिथिका दिन व्रत गर्ने महिला अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् भने पुरुषले सूर्य देवतालाई अघ्र्य अर्पण गर्ने समयसम्म पोखरी, तालतलैयामा हातमा नरिवल वा अन्य फलफूल लिइ उभिरहेका हुन्छन् ।

साँझको समयमा घण्टौँसम्म जलमा रही नाङ्लो, कनसुप्ती, ढकना, सरबालगायतमा राखिएका ठकुआ, भुसवा, केरा, नरिवल, उखु, सुन्तला, कागती, सिंगारा, फलफूल, पान, सुपारी, धूप, दीप लगायतले अस्ताउँदो सूर्यलाई अघ्र्य दिने चलन रहेको छ ।

पुराणका अनुसार प्रकृति देवीको एक प्रधान अंशलाई देवसेना भनिन्छ जुन की सबैभन्दा श्रेष्ठ मातृका मानिन्छ । माता सृष्टी सम्पूर्ण जीवको रक्षिका देवी हुन् । प्रकृतिको छैठौँ अंश भएका कारण उनको नामसमेत षष्ठी छ ।

षष्ठी देवीको पूजनको प्रचार प्रसार ब्रह्मवैवर्त पुराणका अनुसार राजा प्रियव्रतककालदेखि आरम्भ भएको मानिन्छ । यस कारण छठीमाता भन्ने मिथिलाञ्चलमा परम्परा रहेको छ ।

हुनतः केहीले सूर्यको माता भनेरसमेत षष्ठी देवीको पूजा गर्छन् । छठको पौराणिक महत्व लङ्का विजयपछि रामराज्यको स्थापनाका दिन कार्तिक शुक्ल षष्ठी तिथिका दिन भगवान् राम र माता सीता उपवास गरेर सूर्यदेवको आराधना गरेको मान्यता छ ।

सप्तमी तिथिका दिन सूर्योदयको समय अनुष्ठान गरी सूर्यदेवबाट आशिर्वाद प्राप्त गरेकाले छठ पर्वको आरम्भ यसैदिनदेखि भएको मानिन्छ । ऊर्जाको सबैभन्दा ठूलो स्रोत सूर्यलाई मानिन्छ । यसै कारणले गर्दा हिन्दू शास्त्रमा सूर्यलाई प्रत्यक्ष देवताका रुपमा मानिएको छ ।

अर्को मान्यताका अनुसार छठ महाभारतकालदेखि सुरु भएको मानिन्छ । छठ पूजाको सुरुआत सूर्य पुत्र कर्णले गरेको मानिन्छ । कर्ण भगवान् सूर्यको परम भक्त थिए । उनी हरेक दिन जलमा उभी सूर्यलाई अघ्र्य दिने गर्दथे ।

सूर्यको कृपाले उनी महान योद्धा बन्न सफल भएको विश्वासमा पनि आधारित छ । महाभारतमा सूर्य पूजाको अर्को वर्णनसमेत पाइन्छ । पाण्डव पत्नी द्रौपदीले आफ्नो परिजनको उत्तम स्वास्थ्यको कामना र दीर्घायुका लागि नियमित सूर्य पूजा गर्ने गरेको महाभारत पुराणमा उल्लेख छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार